एक दिन ढिला हुँदैं कांग्रेस बाँकेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन
Friday, September 25th, 2026, 9:55 pm
Kalpristha
नेपाली कांग्रेस १५ औं महाधिवेशनकालपृष्ठ समाचारदाता
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असोज
नेपाली कांग्रेस बाँकेको १५औं महाधिवेशन अन्तर्गत शनिबार हुने भनिएको प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाको अधिवेशन कार्यतालिका भन्दा एक दिन पछाडी सरेको छ । देशभर परिरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुने भएपछि शनिबार हुने भनिएको निर्वाचन सार्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत वीर बहादुर रोकायले बताउनु भयो ।
शुक्रबार साझ बसेको निर्वाचन सचिवालयको बैठकले आइतबार गर्ने निर्णय गरेको हो । नयाँ कार्यतालिका अनुसार असोज ११ गते मनोनयन दर्ता र असोज १२ गते बिहान ८ बजेदेखि बाँकेको तीन निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया सुरु हुने रोकायले बताउनु भयो ।
प्रतिनिधि सभा र प्रदेश सभाको अधिवेशनका लागि बाँके क्षेत्र नम्बर १ को मतदान स्थल कोहलपुर, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति नेपालगन्ज परिसर र बाँके क्षेत्र नम्बर ३ को खजुरा मिनि पार्कमा कायम गरिएको निर्वाचन सचिवालयले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि निर्वाचन सचिवालयले शुक्रबार कांग्रेसको विभिन्न जिम्मेवार पदमा रहनु भएका नेताहरुसँग छलफल गरेको थियो ।
जिल्ला निर्वाचन सहजीकरण समिति संयोजक एवम् वरिष्ठ अधिवक्ता भोलासिंह हमालको अध्यक्षतामा बसेको बैंठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, मुख्य निर्वाचन अधिकृत अधिवक्ता वीर बहादुर रोकाय, सहायक निर्वाचन अधिकृत अधिवक्ता मेहर खत्री, निर्वाचन अधिकृत एवम् डिएल बाँके अध्यक्ष कपिल देव शर्मा, कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, सचिव सुधान्शु कोइराला, क्षेत्रीय सभापतिहरु नक्की खाँ, रमेश गुप्ता, पोषण केसी, निर्वाचन समितिका प्रवक्ता एवम् नेपाल प्रेस युनियन बाँके अध्यक्ष कमल खत्री, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली लगायतको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन र असोज ९ गते पालिका तथा नगर अधिवेशन सम्पन्न भएको थियो । बाँकेको खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो भने नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकामा नेतृत्व छनोटको लागि निर्वाचन भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिको रुपमा धनराज बर्मा, कोहलपुर नगरपालिकाको नगर सभापतिमा वीरेन्द्र शाह, बैजनाथ गाउँपालिका अध्यक्षमा देव बहादुर केसी, राप्तीसोनारी गाउँपालिका अध्यक्षमा भीम राना क्षेत्री र जानकी गाउँपालिका अध्यक्षमा अजय कुमार बर्मा निर्वाचित हुनु भएको हो ।
यसैगरी खजुरा गाउँपालिका अध्यक्षमा महेन्द्र मल्ल, नरैनापुर गाउँपालिका अध्यक्षमा मेराज अहमद खाँ र डुडुवा गाउँपालिका अध्यक्षमा विजय कुमार यादव सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अविरल वर्षाका कारण मौषम प्रभावित भएपछि असोज १३ गते सम्म क्षेत्र र प्रदेश सभाको निर्वाचन गर्न निर्देशन गरेको छ । यसैगरी केन्द्रीय अधिवेशन भने काठमाडौंमा असोज १६, १७, १८ र १९ गते हुने तालिका सार्वजनिक भएको छ ।