विवादित अडियो सार्वजनिक भएपछि पक्राउ परे आशिष
Monday, September 28th, 2026, 8:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङको सचिवालयका व्यक्तिलाई बदनाम गराउने गरी सार्वजनिक भएको अडियोमा संलग्न बाँकेका आशिष मल्ल भनिने धर्मराज मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्ललाई बाँकेबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं लगेर थप अनुसन्धान गरेर कारबाही अगाडी बढाईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मल्ल विवादमा आइरहने व्यक्ति हुन ।
गृहमन्त्रीको मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय मल्ल रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।
मल्ल र बाँकेका अर्का पत्रकार हेमन्त चौधरीबिचको सम्बादमा गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको भन्दै मोलमोलाइ गरेको अडियो समेत सार्वजनिक भएको थियो । जसमा डिभिजन वन कार्यालयको विभिन्न जिल्लाका हाकिमलाई सरुवा गरेको र जेलमा कर्मचारी भर्ति गर्दा आउने कमिसनको बारेमा कुराकानी गरिएको छ ।
पक्राउ परेका मल्लविरुद्ध ६ वटा मुद्दाहरू रहेको समेत खुलेको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताउनु भयो । अडियोबारे वास्तविकता बुझ्न सोधपुछ गर्दा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्रको कसुरमा २ दिनको म्याद लिइएको छ । बाँकेमा उनीविरुद्ध दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा उनी फरार रहेको समेत प्रहरीको बताएको छ । मल्ल विरुद्ध बाँकेमै ३ वटा अभद्र १ वटा ठगी र १ वटा बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले बताएको छ ।