प्रदेश प्रतिनिधिमा कांग्रेस बाँके कोषाध्यक्ष बस्नेतले पाए सर्वाधिक मत
Tuesday, September 29th, 2026, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को सोमबार सम्पन्न निर्वाचनमा कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत सर्वाधिक मतसहित लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधिको खुलातर्फ ८ पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । बस्नेतले खसेको कुल ३३८ मतमध्ये २३० मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएका हुन् । बस्नेतले प्रतिनिधिसभा क्षेत्र नम्बर २ का नवनिर्वाचित क्षेत्रीय सभापति नरेन्द्रकुमार चौधरी नेतृत्वको समूहबाट उम्मेदवारी दिएका थिए । चौधरी समूहबाट प्रदेश अधिवेशन प्रतिनिधिमा ६ जना निर्वाचित हुँदा क्षेत्रीय सभापतिमा पराजित विरेन्द्र शाह समूहबाट दुई जना मात्रै निर्वाचित भएका छन् ।
कांग्रेस बाँकेमा चार वर्षदेखि कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका बस्नेतले आफूलाई प्राप्त मतप्रति खुसी व्यक्त गर्दै पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन् । “म धेरै खुसी छु । सबैको साथ र विश्वास पाएँ । चार वर्षे कोषाध्यक्षको कार्यकालमा सबैसँग राम्रो समन्वय गरेर काम गर्ने अवसर पाएँ, त्यसकै निरन्तरता र विश्वास निर्वाचनको परिणाममा पनि देखिएको छ,” उनले भने ।
प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै बस्नेतले अब लुम्बिनी प्रदेशमा पदाधिकारीका लागि प्रतिस्पर्धा गर्ने चाहना समेत व्यक्त गरेका छन् । उनले पार्टी संगठनलाई थप सुदृढ बनाउन प्रदेश तहमा भूमिका निर्वाह गर्ने आफ्नो इच्छा रहेको बताए ।