कांग्रेस महाधिवेशन प्रतिनिधिमै हारे बाँकेमा रविन्द्रमान श्रेष्ठले
Thursday, October 1st, 2026, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
नेपाली कांग्रेस १५औं केन्द्रीय अधिवेशनको लागि भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा बाँकेबाट पराजित हुने ‘ह्यावी वेट नेता’ मा रविन्द्रमान श्रेष्ठ पनि पर्नु भएको छ । बाँके क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा श्रेष्ठ पराजित हुनु भएको हो ।
२०७८ सालमा भएको १४औं महाधिवेशनमा प्रतिनिधि भएर जानु भएका श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको थियो । तर शेर बहादुर देउवा समुहमा नपरेपछि उहाँले अन्तिम समयमा नाम फिर्ता लिनु लिएको थियो । बाँके पछिल्लो समय उहाँ गगन थापा समुह प्रवेश गरेर विशेष महाधिवेशनको पक्षमा उभिदैं आउनु भएको थियो ।
बाँके कांग्रेसमा श्रेष्ठ बौद्धिक नेतामा पर्नु हुन्छ । २०७७ सालमा तत्कालिन कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले गठन गरेको उद्योग तथा व्यापार विभागमा श्रेष्ठलाई सदस्यको रुपमा मनोनयन गरिएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरको लागि गरिएको १४ जना व्यक्तिमा उहाँ पनि आंकाक्षीमा पर्नु भएको थियो भने २०७९ सालमा प्रतिनिधि सभाको निर्वाचनमा बाँके–२ बाट सम्भावित उम्मेदवारको रुपमा सिफारिसमा पर्नु भएको थियो । नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति कृष्ण प्रसाद श्रेष्ठको छोरा रविन्द्रमानले नेपाली गल्फ खेलको नेतृत्वमा बसेर काम गर्नु भएको छ ।
यसैगरी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा पूर्व सांसद देखि लिएर वर्तमान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पराजित हुनु भएको छ । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको प्रभावशाली नेता मानिने पूर्व सांसद आशा विक पराजित हुनु भएको हो । बाँकेमा यसपटक महाधिवेशन प्रतिनितिमा पराजित हुनु उहाँ उच्च पदमा पुगेको नेता हो ।
समानुपातिक कोटाबाट दुई पटक सांसद बन्न सफल विकलाई युवा नेता पुष्पा सुनारले हराउनु भएको हो । दलित कोटाबाट १ जना उम्मेदवारको लागि आशा विक, पुष्पा कुमारी सुनार र संगिता रजकको उम्मेदवारी परेको थियो । जसमा पुष्पा सुनारले सर्वाधिक २ सय ६७ मत प्राप्त गर्दा, आशा विकले १ सय ९२ र संगिता रजकले ८४ मत पाउनु भयो ।
१० जना खुला तर्फ महाधिवेशन प्रतिनिधिको २० जनाको उम्मेदवारी परेकोमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ पराजित हुनु भएको हो । खुला तर्फको प्रतिस्पर्धामा नेपाली कांग्रेस बाँकेका सह–सचिव बिनोद थारु, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (ख) सभापति राजेन्द्र आचार्य तथा कांग्रेसका प्रभावशाली नेता कृष्ण विक रसाईली पनि पराजित हुनु भएको छ ।
यसैगरी महिला तर्फको ४ जना महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव पनि पराजित हुनु भयो । उक्त समुहबाट उमा कुमारी थापा, गिता गोदार क्षेत्री, निर्मला रोकाय र भावना चौधरीले जित हासिल गर्नु भएको छ ।
यसैगरी बाँके क्षेत्र नम्बर २ मा भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा वर्तमान लुम्बिनी प्रदेश सभा सदस्यहरु समेत पराजित भएका छन् । क्षेत्र नम्बर २ को निर्वाचनमा माया पुन, सुशिला नेपाली वादी, मिना सिद्दिकी र निवर्तमान प्रदेश सभा सदस्य याकुव अन्सारी (गोब्रे) पनि पराजित हुनु भएको छ ।
त्यस्तै अन्य प्रभावशाली नेतामा पर्ने निरन्जन सिंह सिजापति, सुदिप नर्सिङ्ग राणा र ललित रौनियार पनि पराजित हुनु भएको छ । बाँके क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा खुला तर्फ नेपाली कांग्रेस बाँके सचिव सुधान्सु कोइरालाले सर्वाधिक मत र महिला तर्फ निर्वतमान उपमेयर उमा थापा मगरले सर्वाधिक मत पाउनु भएको थियो । त्यस्तै खुला तर्फको १० जनाको लागि भएको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट हारको नजिक पुग्नु भएको थियो । अन्तिम १० जनामा परेर उहाँ महाधिवेशन प्रतिनिधिको लागि छनोट हुनु भएको छ ।