देउवा समूहले खोल्यो नेपालन्जमा सम्पर्क कार्यालय
Thursday, October 1st, 2026, 7:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
बाँकेमा पुर्व पार्टी सभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशनको लागि सम्पर्क कार्यालय खोलिएको छ । नेपालगन्ज कारकाँदो सडक विभाग कार्यालय अगाडी बिहीबार औपचारिक रूपमा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरिएको हो ।
महाधिवेशन तयारी समिति बाँकेका संयोजक कृष्णबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पुर्बसभापति एवम पुर्बमन्त्री गजेन्द्रबहादुर हमाल, नेपाली कांग्रेस बांँके क्षेत्र नम्बर १ का पुर्बसभापति माधवराम खत्री, पुर्बसांसद ज्ञानु केसी, नेपाली कांग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य रामबहादुर मल्ल, जोगिन्दर यादव, युवा नेता यज्ञबहादुर महरा, यादवराज बस्याल, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, किसान महासंघकी नेतृ माया सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
देउवा समुहले आफ्नो छुट्टै १५ औँ महाधिवेशन गर्ने तयारी थालेको छ । उक्त समुहले बाँकेमा बिहीबारबाट वडा तहको अधिवेशन प्रक्रिया सुरु गरिएको जनाएको छ । पहिलो दिन बिहीबार कोहलपुर र खजुराका केही वडामा अधिवेशन प्रक्रिया सुरु गरिएको बताइएको छ ।
सो समुहले असोज १९ गतेभित्र वडा तहका अधिवेशन सम्पन्न गर्ने जनाएको छ । महाधिवेशन तयारी समिति बाँकेका संयोजक कृष्णबहादुर कार्कीले यज्ञबहादुर महरालाई सदस्य (सचिव) मा नियुक्त गर्नु भएको छ ।