लुम्बिनीको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले हरायो गण्डकीको गुरुकुल विद्या सदनलाई
Friday, October 9th, 2026, 7:17 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
नेपालगन्ज–११ स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको एसियन पेन्ट्स च्याम्पियन्स कप यू–१८ फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार नेपालगन्जस्थित रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले गण्डकी प्रदेशको गुरुकुल विद्या सदनलाई ४–३ गोलले पराजित गरेको छ। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा सगरमाथाले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो।
खेलको ३२औँ मिनेटमा सगरमाथाका जर्सी नम्बर ११ का अमित बोहराले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३८औँ मिनेटमा जर्सी नम्बर २२ का सञ्जय रोकाले दोस्रो गोल गरे। सञ्जयले खेलको ५१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सगरमाथाको अग्रता थप बलियो बनाए।
यता, गण्डकी प्रदेशको गुरुकुल विद्या सदनका जर्सी नम्बर ८ का सफल विकले ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि ५०औँ मिनेटमा जर्सी नम्बर ३ का अपिल कुँवरले गोल गर्दै खेललाई थप प्रतिस्पर्धात्मक बनाए। सफल विकले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे पनि गुरुकुलले हार टार्न सकेन।
खेलको ९१औँ मिनेटमा सगरमाथाका जर्सी नम्बर १० का मनोज परियारले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। निर्धारित समयको खेलमा सगरमाथाले चार गोल गर्दा गुरुकुल विद्या सदनले तीन गोल गरेको थियो
सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले प्रतियोगिताको यात्रामा बाँके जिल्लाका ३२ टोलीलाई पछि पार्दै जिल्ला च्याम्पियन बन्न सफल भएको थियो। जिल्ला तहमा उत्कृष्ट प्रदर्शन गरेको सगरमाथाले त्यसपछि दाङमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय प्रतिस्पर्धामा मेचीकाली सेकेन्डरी स्कुललाई पराजित गर्दै प्रदेश विजेताको उपाधि हासिल गरेको थियो।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेको सगरमाथाले घरेलु मैदानमा समेत आफ्नो क्षमता प्रमाणित गर्दै गण्डकी प्रदेशको गुरुकुल विद्या सदनलाई पराजित गरेको हो। जिल्ला च्याम्पियन हुँदै प्रदेश विजेता बनेको सगरमाथा अब केन्द्रीय स्तरको उपाधि यात्रालाई लक्ष्य बनाएर अघि बढिरहेको छ।
नेपालगन्ज–११ स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यालय तहका युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले युवा फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेशको प्रतिस्पर्धाअन्तर्गत शुक्रबार सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुने कार्यक्रम रहेको छ। तीन टोलीबीचको प्रतिस्पर्धाबाट छनोट हुने विजेता टोलीले काठमाडौंमा आयोजना हुने केन्द्रीय स्तरको प्रतियोगितामा सहभागिता जनाउनेछ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशलाई पराजित गरेको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो सफल यात्रालाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमा समेत उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।