बाटोमा हिँडिरहेको बेला पहिरोमा परी दुई जनाको मृत्यु, एक जना घाइते
Tuesday, September 22nd, 2020, 12:21 pm
amit
गुल्मी, ६ असोज । पहिरोमा पुरिएर गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।
गुल्मीको ईश्मा गाउँपालिका वडा नं २ छल्दीपनाह रातचौर भन्ने स्थानमा सोमबार साँझ आठ बजेतिर सडकमा हिँडिरहेका उनीहरू माथिबाट झरेको पहिरोमा पुरिएका हुन्।
सोमबार साँझदेखि परेको पानीका कारण झरेको पहिरोमा पुरिएकाहरूबारे मंगलबार बिहानमात्र जानकारी भएपछि उद्धारमा जुटेको ईश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्टले जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बल, गुल्मीका अनुसार पहिरोमा परी जिल्लाको ईश्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौरका ३९ वर्षीय प्रेम बहादुर कुमाल र सोही ठाउँकै ५ वर्षीय सफल कुमालको मृत्यु भएको हो भने सोही ठाउँकै ६० वर्षीय तिलक कुमाल घाइते भएका छन्।
उनीहरू तीनै जना सोमबार आफन्तको घरमा पूजामा सहभागी भएर घर फर्किंदै थिए। त्यसैक्रममा राति ८ बजे बाटो माथिबाट गएको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगबाट बाटोभन्दा करिब एक सय मिटर तल नालीको छेउबाट शव निकालिएको प्रहरीले बताएको छ।
घाइते तिलकको सोमबार राति नै उद्धार गरिए पनि दुई जनाको मंगलबार बिहानमात्रै शव फेला परेको हो । घाइतेको अवस्था भने सामान्य रहेको छ।