कांग्रेसको केन्द्रीय राजनीतिमा सुधान्शुको इन्ट्री
Friday, October 16th, 2026, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असोज
नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा बाँकेबाट कोइराला परिवारको पुनरागमन भएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट युवा नेता सुधान्शु कोइराला खुला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै बाँकेको कांग्रेस राजनीतिमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। जिल्लाको संगठनदेखि पार्टीको केन्द्रीय राजनीतिसम्म निरन्तर सक्रिय रहँदै आएका सुधान्शुको विजयलाई बाँके कांग्रेसमा मात्र नभई राष्ट्रिय राजनीतिमा समेत चासोका साथ हेरिएको छ।
सुधान्शु पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाका भतिजा हुन्। उनका पिता स्वर्गीय डा। अरुण कोइराला र माता किरण कोइराला पनि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। किरण कोइराला नेपाली कांग्रेस बाँकेको पूर्वसभापतिसमेत हुन्।
सुधान्शुको कांग्रेस राजनीतिमा उदय भने एकैपटक भएको होइन। पार्टीको १३औँ महाधिवेशनमा उनी नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा अत्यधिक मतका साथ निर्वाचित भएका थिए। त्यसपछि १४औँ महाधिवेशनमा जिल्ला सचिव पदमा पनि लोकप्रिय मत प्राप्त गर्दै आफ्नो राजनीतिक प्रभावलाई थप बलियो बनाएका थिए।
जिल्ला तहमा संगठन निर्माण र कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई प्राथमिकता दिँदै आएका सुधान्शुले १५औँ महाधिवेशनमा भने केन्द्रीय राजनीतिमा प्रवेश गर्ने लक्ष्यसहित खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए।
उनको पछिल्लो विजयले जिल्लामा स्थापित राजनीतिक आधारलाई केन्द्रीय तहसम्म विस्तार गर्ने अवसर प्रदान गरेको छ।
सुशीलपछि शून्य रहेको ठाउँमा सुधान्शु
स्वर्गीय सुशील कोइरालाको निधनपछि बाँकेबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा कोइराला परिवारको प्रत्यक्ष प्रतिनिधित्व कमजोर बनेको थियो। सुशील कोइरालाको निधनसँगै जिल्लाको कांग्रेस राजनीतिमा कोइराला परिवारको केन्द्रीय उपस्थिति शून्यजस्तै बनेको अवस्थामा सुधान्शुको विजयले त्यसलाई पुनः जोडेको छ।
कोइराला परिवारको राजनीतिक विरासत बोकेर केन्द्रीय सदस्यमा निर्वाचित भएका सुधान्शुसामु अब उक्त विरासतलाई निरन्तरता दिने चुनौतीसमेत छ। विशेषगरी सुशील कोइरालाको सरल, संयमित र निष्कलंक राजनीतिक छविलाई कायम राख्दै नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टी राजनीतिमा भूमिका खेल्नुपर्ने दबाब उनीमाथि रहनेछ।
बाँके कांग्रेसमा उत्साह
सुधान्शु केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बाँकेका कांग्रेस नेता तथा कार्यकर्तामा उत्साह देखिएको छ। लामो समयपछि जिल्लाबाट कोइराला परिवारको प्रतिनिधित्व केन्द्रीय तहमा पुगेकाले बाँकेका राजनीतिक तथा संगठनात्मक मुद्दाले पार्टीको केन्द्रीय नेतृत्वमा थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
युवा पुस्ताबाट केन्द्रीय नेतृत्वमा पुगेका सुधान्शुलाई जिल्लाका कांग्रेस कार्यकर्ताले नयाँ पुस्ता र पुरानो राजनीतिक विरासतबीचको सेतुका रूपमा समेत हेरेका छन्।
उनको विजयसँगै बाँके कांग्रेसमा संगठन विस्तार, युवा सहभागिता र जिल्लाका विकास तथा राजनीतिक मुद्दालाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने अपेक्षा बढेको छ।
‘सुशीलको बाटोमा हिँड्नेछु’
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सुधान्शुले स्वर्गीय सुशील कोइरालाको राजनीतिक आदर्शलाई पछ्याउँदै इमानदार र निष्कलंक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कार्यकर्ताको सम्मानलाई केन्द्रमा राखेर पार्टी संगठनलाई बलियो बनाउने र आफूलाई प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

…………
सुधान्शुको केन्द्रीय राजनीतिमा प्रवेशसँगै बाँके कांग्रेसले एकातिर कोइराला परिवारको राजनीतिक विरासतलाई पुनः निरन्तरता पाएको छ भने अर्कोतिर युवा नेतृत्वको नयाँ सम्भावना पनि प्राप्त गरेको छ। अब उनको राजनीतिक यात्रा र केन्द्रीय भूमिकाले बाँके कांग्रेसमा मात्र होइन, राष्ट्रिय कांग्रेस राजनीतिमा समेत कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ।
सुधान्शुको राजनितिक ग्राफः
१३औँ महाधिवेशनः बाँके जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित
१४औँ महाधिवेशनः कांग्रेस बाँके जिल्ला सचिवमा निर्वाचित
१५औँ महाधिवेशनः खुला केन्द्रीय सदस्यमा निर्वाचित