राधापुरका स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण
Friday, October 16th, 2026, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँके, ३० असोज
बाँके खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । वडाका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन मिहिनेत गर्ने स्वास्थ्य स्वयंसेविकालाई वडाले सम्मान गरेको हो । सम्मान कार्यक्रमको अवसरमा वडाभित्र क्रियाशिल रहनु भएका १३ स्वास्थ्य स्वयंसेविकालाई साईकल समेत प्रदान गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर १ मा स्वास्थ्य स्वयंसेविकाको रुपमा तारा थापा, भविसरा राना, रन्जना गुरुङ्ग, पुर्णकला राना, उमा कुमारी क्षेत्री, रबिना थापा, दुर्गा देवी थापा, निर्मला कुमारी मल्ल, बिमला रावत, उषा थापा, मिना कुमारी विक, दिल कुमारी शाही र आस्मा वली कार्यरत रहनु भएको छ ।
वडाभित्रका नागरिकलाई सहज र छरितो रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज होस भनेर स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको वडा अध्यक्ष मनवीर क्षेत्रीले बताउनु भयो ।
राधापुर स्थित वडा कार्यालय भवनमा भएको कार्यक्रममा प्रमुख अतिथी खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले राधापुरले गरेको कार्यले वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘१ नम्बर वडाले निकै उत्कृष्ट र रचनात्मक काम गरिरहेको छ । अहोरात्र खटिने स्वास्थ्य स्वयंसेविकालाई हामीले केहि पनि गर्न सकेको छैनौं । उहाँहरुले जति नागरिकलाई सेवा दिइरहनु भएको छ, त्यसको आधारमा राज्यले धेरै केहि गर्न सकेको छैन । तर वडाले उहाँहरुको मनोबल बढाउन साईकल वितरण गरेको छ । यसले पक्कै पनि वडाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।’
स्वास्थ्य स्वयंसेविकाको सेवालाई थप प्रभावकारी बनाउँदै उहाँहरुको मनोबल उच्च बनाउन सम्मान तथा साईकल वितरण कार्यक्रमको सुरुआत गरिएको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘स्वास्थ्य स्वयंसेविकाले यहाँको नागरिकलाई महत्वपुर्ण सुविधा दिइरहनु भएको छ । वर्थिङ्ग सेन्टरलाई वडामा सक्रिय बनाउन पनि उहाँको योगदान धेरै छ । उहाँहरुको सेवालाई छिटो छरितो होस भनेर साइकल वितरण गरेको हौं । साईकलले स्वास्थ्य पनि राम्रो हुन्छ । सेवा पनि प्रभावकारी हुन्छ । राज्यले स्वास्थ्य स्वयंसेविकालाई कुनै तलबको व्यवस्था गरेको छैन । उहाँहरुलाई थोरै पनि सहयोग होस भनेर हामीले साईकल वितरण गरेका हौ । ’

…….

……….

……….
शुक्रबार वडा कार्यालयमा भएको कार्यक्रममा वडा सचिव मन्जु शर्माले अतिथीलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य एवम् वडा सदस्य विष्णु सुनार, वडा सदस्य राम कुमार सुनार, वडा सदस्य बाल कुमारी सुनार, राधापुर स्वास्थ्य चौकी प्रमुख सुदिप पौडेल, राधापुर प्रहरी चौकी प्रमुख विष्णु बहादुर थापा, नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर १ सभापति सुरेन्द्र थापा, नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष खेम बहादुर राना, राप्रपाका जंग बहादुर थापा, राधापुर अपाङ्ग मैत्री संघका अध्यक्ष बिमल थापा लगायतको सहभागिता रहेको थियो ।