बाँकेमा प्रथम लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो
Friday, October 16th, 2026, 8:08 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, ३० असोज
तेक्वान्दो खेलकाे विकास र विस्तार तथा प्रदेशस्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बाँकेेमा प्रथम लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता-२०८३ हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, अनुशासनका लागि तेक्वान्दो भन्ने नारा रहेकाे प्रतियोगिता यही मंसिर ४,५ र ६ गते हुन लागेकाे शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे छ ।
तेक्वान्दो खेलकाे विकास र विस्तार, प्रदेशस्तरीय खेलाडी उत्पादन, युवाहरूमा अनुशासन र आत्मविश्वास बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार र खेलकुदमार्फत सामाजिक एकता र भाइचारा बढाउने उद्देश्यले प्रतियोगिता आयाेजना गर्न लागिएको आयाेजक आदर्श तेक्वान्दो डाेजाङ नेपालगन्जका प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयाे ।
उक्त प्रतियोगितामा लुम्बिनीकाे १२ वटै जिल्लाका १ सय ४४ जना खेलाडी, १२ जना प्रशिक्षक, २१ जना रेफ्री, ४ जना ज्यूरी १० जना प्राविधिक सहभागी हुने अर्काे आयाेजक भृकुटी तेक्वान्दो डोजाङका संयोजक उमादेवी थापाले बताउनुभयाे । बाँकेकाे राप्ती साेनारी रंगशालामा हुने तीन दिने प्रतियोगितामा पुम्से र गेरुगी (फाइट) गरी दुई विधा पनि समावेश गरिएको छ ।
पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार प्रतियोगितामा १५ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । नयाँ प्रतिभाशाली खेलाडी पहिचान र तेक्वान्दोको विकासका लागि गाउँमा प्रतियोगिता गराउन थालेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापाले बताउनुभयाे ।
यसका साथै यस प्रतियोगिताले नयाँ प्रतिभाशाली खेलाडी पहिचान, प्रदेशमा तेक्वान्दोकाे लाेकप्रियता वृद्वि, राष्ट्रिय प्रतियोगितामा बाँकेका खेलाडीकाे सहभागिता बढ्ने र युवाहरूमा सकारात्मक उर्जा र अनुशासन विकास गर्ने अपेक्षा गरिएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताउनुभयाे । उहाँले बाँके जिल्लाका ग्रामीण समुदायका युवाहरू मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएकाले यसले अपेक्षित उपलब्धि हासिल गर्न सकिने र यसले बाँकेकाे खेल क्षेत्रमा सहयाेग पुग्ने धारणा राख्नुभयाे ।