तीन घण्टासम्म अस्पताल प्रवेश गर्न नदिएपछि ७२ बर्षीया कोरोना संक्रमितको मृत्यु
Tuesday, September 22nd, 2020, 1:34 pm
amit
झापा, ६ असोज । कोरोना संक्रमित एक वृद्धाको अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई मृत्यु भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे ज्यान गएको हो।
श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो।
पारिवारिक स्रोतका अनुसार कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको ज्यान गएको हो।
उनको मृत्युपश्चात अस्पतालले स्वाब संकलन गरप् कोरोना परीक्षणका गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ।