राष्ट्रसंघका कर्मचारीलाई निःशुल्क कोभिड १९ विरुद्धको रुसी भ्याक्सिन लगाइदिने पुटिनको घोषणा
Wednesday, September 23rd, 2020, 12:51 pm
amit
एजेन्सी, ७ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका कार्यालयहरुमा कोरोना महामारीले असर गरेको भन्दै निःशुल्क भ्याक्सिन उपलब्ध गराउन आफू तयार रहेको बताएका छन्।
आफ्नो देशमा निर्मित कोभिड १९ विरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ विश्वसनीय, सुरक्षित र प्रभावकारी रहेको पुटिनले दाबी गरेका छन्।
भर्चुअल रुपमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा पुटिनले आफ्नो अनुभव साट्न तयार रहेको र रुसी भ्याक्सिन आपूर्ति गर्नेलगायत विषयमा सबै देश तथा अन्तर्राष्ट्रिय समुदायसँग संयोजन जारी राखिने भन्दै यो भ्याक्सिन सुरक्षित, प्रभावकारी र विश्वसनीय रहेको बताएका छन्।
उनले राष्ट्रसंघलाई सबैखाले सहयोग गर्न रुस तयार रहेको बताउँदै विशेषगरी रुसी भ्याक्सिन राष्ट्रसंघका कर्मचारीहरुलाई सित्तैमा लगाइदिने प्रस्ताव समेत गरेका छन्।
रुसले ११ अगस्टमा विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन स्पुतनि भीलाई मान्यता दिएको थियो । तर, अन्तर्राष्ट्रिय समुदायले यस भ्याक्सिनको विश्वसनियताबारे प्रश्न उठाइरहेको छ । जतिबेला यस भ्याक्सिनले स्वीकृति पाएको थियो, त्यतिबेला तेस्रो चरणको परीक्षण नै सुरु भएको थिएन । सानो संख्याका मानिसहरुमा मात्रै यसको परीक्षण गरिएको थियो।