कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा ‘हिमचितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
Wednesday, September 23rd, 2020, 2:08 pm
amit
काठमाण्डौ, ७ असोज । ‘हिमचितुवा’को नामले चर्चित कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. शेर्पाको अन्त्येष्टि काठमाण्डौको टेकुस्थित घाटमा सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेपछि बौद्ध धर्मको परम्पराअनुसार गरिएको हो।
यसअघि सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा पुगेर शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान अर्पण गरेका थिए।
सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै सगरमाथाको शिखरमा पुगेका शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीमा निधन भएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुका साथै उपचारमा भएको खर्चसहित किरिया खर्च समेत व्यहोर्ने निर्णय गरेको थियो।
१५ वर्षको उमेरदेखि नै भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका शेर्पाले १० पटक विना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् भने अक्सिजनको सहाराबिना सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी शेर्पाले २ पटक गिजिन बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम समेत लेखाएका थिए।