वीर अस्पताल र केन्द्रीय कारागारले जैसवालको मृत्यु शंकास्पद नभई सामान्य ढंगबाट भएको दावी
Wednesday, September 23rd, 2020, 5:38 pm
amit
काठमाण्डौ, ७ असोज । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले उनको मृत्यु शंकास्पद नभई सामान्य ढंगबाट भएको दावी गरेको छ।
यसैगरीे बुधबार कारागार र अस्पतालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति १०ः५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको जिकिर गरेको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएको थियो भने त्यहाँबाट उनलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको हो।
थप उपचारका लागि उनलाई वीर अस्पताल र्पुयाइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको र उपचारको क्रममा उनको मृत्यु भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेका कारण शव सड्ने प्रक्रिया सुरु भइसकेका कारण शवमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया हो।
उनले शवलाई रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका संकेतहरु देखिनु सामान्य प्रक्रिया भएको बताएका छन्।
मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
बाहिर आएका विभिन्न किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत साबित भएको विज्ञप्तिमा उल्लेख छ । अन्य रिपोर्ट पोस्टमार्टमपछि मात्रै आउने विज्ञप्तिमा उल्लेख छ।