रसुवागढी हुँदै चीनबाट दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रियो, पाँच ट्रक अरु सामग्री आउँदै
Thursday, September 24th, 2020, 10:11 am
amit
रसुवा, ८ असोज । चीनबाट आयात भएका २ ट्रक स्वास्थ्य सामाग्री रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ।
झण्डै एक महिनादेखि बन्द उत्तरको केरुङ नाका हिजोदेखि सञ्चालनमा आएको हो भने चिनियाँ पक्षले अनुमति दिएपछि स्वास्थ्य सामग्री मितेरी पुलमा आइपुगेको थियो।
रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कामसमेत सकेर दुई वटै ट्रक गन्तव्यतर्फ पठाइएको हो।
त्यस्तै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले केरुङका गोदाममा राखिएका अरु सामान भने विगतकै अनुपातमा पठाउने तयारीमा रहेको छ भने अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलिसम्ममा पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी प्राप्त भएको बताएका छन्।
व्यवसायीका अनुसार अहिलेकै परिमाणमा आयात हुने हो भने केरुङमा रहेका सामान नेपाल भित्रिन झण्डै ६ महिना लाग्नेछ। व्यवसायीको आग्रहअनुसार नेपाली पक्षले सामान आयातको परिमाण बढाउन प्रस्ताव पनि गरिसकेको छ।
यसैगरी सो प्रस्तावअनुसार सामान पठाउने हो भने राख्न ठाउँ पुग्छ या पुग्दैन भनेर चिनियाँ पक्षले रसुवागढी नाकाको भन्सार यार्ड पनि अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिएका छन्।