एकै घरका दुईसहित तीन जनामाथि धारिलो हतियार प्रहार, हेलिकप्टर चार्टर गरी उपचारका लागि लैजाने तयारी
Thursday, September 24th, 2020, 11:08 am
amit
ताप्लेजुङ, ८ असोज । ताप्लेजुङमा एक युवकले एकै घरका दुईसहित तीन जनालाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन्।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका स्थानीय २२ वर्षीय लाक्पा भोटेले गए राति नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् र उक्त घटनापछि लाक्पा भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गम्भिर घाइते तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको र गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।
तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे भए पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिएका छन्।
स्थानीयका अनुसार घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पाशाङ तिनै ठुलीआमाकी छोरा र अर्का पाशाङ भने काकाको छोरा हुन्।
बेलुकी ठुलीआमाका पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए । त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन्।
घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।