गरुडा प्रहरी हिरासतमा विजयराम मृत्यु प्रकरण : एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न गृहको निर्देशन
Thursday, September 24th, 2020, 5:17 pm
amit
रौतहट, ८ असोज । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाका अनुसार छानविन समितिको सिफारिसका आधारमा प्रहरी नियमावलीअनुसार एसपी खड्का, डिएसपी ज्ञानकुमार महतो र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको हो।
रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाइएको छ भने विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिसकेको छ।
त्यस्तै घटनामा संलग्न प्रहरी जवानहरु रुपेश कुश्वाहा र अजय यादव लाई विभागीय कारवाहीको सिफारिस गरिएको छ।
‘साथी हत्या अभियोग’मा साउन ३२ मा पक्राउ गरिएका विजयरामलाई अनुसन्धानको नाममा हिरातमा यातना दिएको छानविन समितिको ठहर छ । यातनापछि नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएका विजयरामको भदौ १० मा मृत्यु भयो । उनको मृत्युपछि परिवारले आन्दोलन चर्काएपछि गृह–मन्त्रालयले छानविन समिति गठन गरेको थियो।
गृह–मन्त्रालयले भदौं १३ मा गठन गरेको छानविन समितिले एसपी खड्काले समग्रमा कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप लगाएको छ । एसपी खड्काको आदेशमा जिल्लाबाट गरुडा आएका इन्सपेक्टर नविनकुमार सिंह सहितका प्रहरीले विजयरामलाई हिरासतमा यातना दिएको छानविनबाट थाहा भएको छ।