ज्यान मार्ने धम्की आउँदा प्रहरीले वास्ता नगर्दा रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या
Saturday, September 26th, 2020, 2:24 pm
amit
रौतहट, १० असोज । ज्यान मार्ने धम्की आएको भन्ने सूचना प्राप्त हुँदा समेत स्थानीय प्रहरीले बेवास्ता गर्दा रौतहटमा एक महिलाको ज्यान गएको छ।
देवाही गोनाही नगरपालिका–५ टिकुलीमा केही व्यक्तिले स्थानीय महेश तिवारीको दम्पत्तिमाथि खुकुरी तथा भालाले आक्रमण गर्दा पत्नी जगरामी देवीको मृत्यु भएको हो।
शुक्रबार साँझ ८ बजेतिर घर नजिकै गफ गरेर बसिरहेको अवस्थामा खुकुरी र खुँडा बोकेर आएका आफैंले चिनेका व्यक्ति समेतको समूहले ज्यान मार्ने धम्की दिएपछि महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा सम्पर्क गरेर आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिए।
तर, प्रहरीले उनको सूचनाप्रति विश्वास गरेन।
धम्की दिएको आधा घण्टापछि पुनः फर्किएर आएको उक्त समूहले महेशमाथि खुकुरी र खुँडा प्रहार गर्दा पतिलाई जोजाउनका लागि आक्रमणकारीविरुद्ध उत्रिएकी महेशकी पत्नीको धारिलो हतियार लागेर मृत्यु भएको हो।
घाइते भएका महेशको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
उनीहरुमाथि आक्रमण भएको सूचना पाएर गाउँलेले होहल्ला गरेपछि आक्रमणकारीहरु भागेका थिए र गाउँमा धारिलो हतियार प्रहारबाट महिलाको हत्या भएको सूचना पाएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो।
प्रहरीले हत्यामा संलग्न मध्येका स्थानीय बलि मुखियालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर महेशमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।
गत असारमा स्थानीय दुवे र मुखिया परिवारबीच बाटोको निकास निकाल्ने विषयमा विवाद भएको थियो भने सो विवाद सुल्झन नसकेर अदालतसम्म पुगेको थियो र अदालतमा मुद्दा दर्ता हुँदा दुवे परिवारको तर्फबाट महेश तिवारी साक्षी बसेको स्थानियले बताएका छन्।
स्थानीयका अनुसार आफूविरुद्धको मुद्दामा साक्षी बसेको विषयलाई लिएर मुखिया परिवारले महेशलाई पटक पटक धम्की समेत दिँदै आएको थियो र सोही कारण शुक्रबार हत्यासम्मको घटना भएको हुन सक्छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ।