बझाङमा १२ बर्षीया बालिका हत्या प्रकरण : एउटा घटना गाउँमै मिलाउँदा अर्को बलात्कार र हत्या
Sunday, September 27th, 2020, 8:19 pm
amit
कैलाली, ११ असोज । बुधबार साँझ बझाङमा मन्दिर अगाडि नागंै मृत अवस्थामा फेला परेको १२ बर्षीया सम्झना विश्वकर्माको हत्यारा पक्राउ परेका छन्।
प्रहरीले स्थानीय २० बर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरी अनुसन्धान गरेपछि अभियुक्तले सो अपराध स्वीकार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनले मस्टा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बोहरा यसअघि पनि एक १३ बर्षीया बालिका बलात्कारमा संलग्न थिए
बिहीबार पक्राउ परेका बोहराले यसअघि पनि एक बालिकालाई बलात्कार गरेको खुल्न आएको छ।
गत साउन २९ गते सोही ठाउँकी १३ बर्षीया बालिकालाई बोहराले बलात्कार गरेका थिए भने ३१ गते आफन्तहरुसँग बसेर मिलापत्र गरेको पाइएको प्रहरीले जनाएको छ।
बोहराले गल्ती गरेको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
उक्त घटनापछि बालिकाको गर्भ रहे त्यसको जिम्मा उसैले लिने भन्ने कागजसमेत गराइएको थियो भने बालिका बलात्कारको घटना गाउँमै मिलाएपछि बोहराले थप अपराध गर्न आट गरेको हुनसक्ने प्रहरीले बताएको छ।
गत साउन २९ गते बलात्कृत बालिकाले पटकपटक अभिभावकसामू आफू असुरक्षित रहेको बताउँदै आएकी भएतापनि उनका परिवारका सदस्यले कुनै चासो नदिएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सम्झनाको बलात्कारपछि हत्या भएको चार दिनपछि २९ साउनको घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएको थियो।
बोहराले सम्झनाको बलात्कारपछि हत्या गरे
बलात्कारपछि निर्मम ढंगले बालिकाको हत्या गरिएको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताएको छ।
प्रहरीका अनुसार शिवमाण्डौ मन्दिर क्षेत्रमा बालिकालाई बलात्कार गरेको र घटना बाहिरिने डरले फलामको सुइरोले रोपेर हत्या गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको हुनाले अझै थप कुराहरु सार्वजनिक हुदैँ जाने प्रहरी जनाएको छ।
त्यस्तै बोहराले बलात्कार र हत्या गरेपछि बालिकाको कानमा रहेको सुनको मुन्द्रा समेत लुटेको प्रहरीले जनाएको छ।