अवैध तस्करी तथा चोरीमा संलग्न विद्युत प्राधिकरणका २ जना कर्मचारी पक्राउ
Tuesday, September 29th, 2020, 1:12 pm
amit
कञ्चनपुर, १३ असोज । चोरी तस्करीमा संलग्न रहेको अवस्थामा कञ्चनपुर प्रहरीले नेपाल विद्युत प्राधिकरणमा कार्यरत २ जनालाई पक्राउ गरेको छ।
विद्युत प्राधिकरण कैलाली र कञ्चनपुरमा ज्यालादारीमा कार्यरत कर्मचारी अवैध तस्करी तथा चोरीमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
प्रहरीका अनुसार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीमा कार्यरत प्रदिप राना र कञ्चनपुरको बेलौरी वितरण केन्द्रमा कार्यरत धनबहादुर चन्दलाई पक्राउ गरिएको हो।
कञ्चनपुरको बेलौरी वितरण केन्द्रका कर्मचारी धनबबहादुर चन्द भारतीय नम्बर प्लेटको मोटरसाइकलमा विद्युतका सामग्री चोरी पैठारी गरी तस्करी गरिरहेको अवस्थामा पक्राउ परेको प्रहरी जनाएको छ।
उनले ती सामग्री भारतीय बजारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएर तस्करी गर्न लागेका थिए।
यस्तै, प्रहरीका अनुसार नेपाल विद्युत प्राधिकरण कैलाली वितरण केन्द्रमा कार्यरत प्रवेश राना अवैध काठसहित पक्राउ परेका हुन्।
उनलाई प्रहरीले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियाबाट अवैध काठसहित पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणमा प्राविधिकका रुपमा कार्यरत राना काठ मिल सञ्चालक समेत रहेका खुलेको छ।