कोरोना परीक्षणको नतिजा आधा घण्टाभित्रै दिने र ५ डलरमात्र पर्ने किट १३३ देशलाई उपलब्ध गराइने : डब्लुएचओ
Tuesday, September 29th, 2020, 2:31 pm
amit
एजेन्सी, १३ असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १५ देखि ३० मिनेटभित्रै कोरोना भाइरस पत्ता लगाउने परीक्षण विधिलाई न्यून र मध्यम आय भएका मुलुकलाई उपलब्ध गराउने जनाएको छ।
यस्तो परीक्षणले त्यस्ता मुलुकमा कोरोना भाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रुपमा विस्तार गर्ने संगठनको दाबी छ । डब्लुएचओका अनुसार ५ डलरमात्र लागत पर्ने उक्त परीक्षण विधिले सकारात्मक परिवर्तन ल्याउनेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा टेड्रोस घेब्रेयससले यो विधि कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुंगा साबित हुने बताएका छन् । उनका अनुसरा नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले ३० मिनेटभित्रै नतिजा दिनेछ।
डब्लुएचओले यसका लागि औषधि निर्माता कम्पनीहरु एब्बो र एसडी बायोसेन्सरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको जनाएको छ भने जसअन्तर्गत छ महिनामा १२ करोड किट उत्पादन गरिनेछ।
डब्लुएचओले योसहमति अनुसार १ सय ३३ देशमा सहायता पुग्नुका साथै यसले प्रयोगशालाको सुविधा र पर्याप्त सुरक्षाकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढ्ने विश्वास समेत गरेको छ।
हालसम्म परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्ने हुँदा धेरै देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा कठिनाइ हुने गरेको छ। विज्ञहरुले भारत र मेक्सिकोजस्ता उच्च संक्रमण भएका देशमा थोरैमात्र परीक्षण हुँदा महामारीको वास्तविक विस्तार थाहा हुन नसकेको बताएका छन्।