कम्युनिष्ट पार्टीका सदस्यले अमेरिकामा स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने
Monday, October 5th, 2020, 2:23 pm
amit
एजेन्सी, १९ असोज । संयुक्त राज्य अमेरिकाले आफ्नो आप्रवासी नियममा नयाँ परिवर्तन गरेको छ । आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन्।
गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस) ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ।
यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन पाउने छैन।
जानकारहरुका अनुसार पछिल्लो समय अमेरिका र चीनको बीचमा तनाव उत्कर्षमा पुगेकाले चीनलाई लक्षित गर्दै अमेरिकाले आफ्नो आप्रवासीको नियममा परिवर्तन गरेको हो।
तर, अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको नाम भने कतै उल्लेख गरेको छैन । साथै अमेरिकाले कुन मुलुकका कम्युनिष्टलाई नयाँ नियम लागू हुने हो भन्ने पनि खुलाएको छैन।
यसअघि नै अमेरिकामा स्थायी बसोवासको अनुमति वा नागरिकता पाइसकेका मानिसको हकमा यो नियम लागू हुने वा नहुने पनि खुलाइएको छैन।