ट्राफिक प्रहरी नै यात्रु बनेपछि…
Tuesday, October 6th, 2020, 9:24 pm
amit
२० असाेज, काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ ।
सोही अभियानअन्तर्गत मंगलबार चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।
सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठगी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ ।
पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।