बाहिरबाट काठमाडौं नआउन र सम्भव भएसम्म नबस्न विज्ञहरुको आग्रह
Wednesday, October 7th, 2020, 10:52 am
amit
२१ असोज, काठमाडौं । दैनिक थपिने कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौकै छन् । नेपालमा हालसम्म सक्रिय संक्रमित मध्ये ४० प्रतिशत भन्दा बढी संक्रमित काठमाडौमै छन् ।
त्यसैले पनि काठमाडौमा समुदायमा नै कोरोना संक्रमण फैलिएको स्वास्थ्यविद्हरु बताउँछन् । चाडपर्व नजिकिँदै गएकाले कोरोना संक्रमणको दर अझै बढ्नसक्ने आंकलन गरिएको छ । अहिले काठमाडौभन्दा बाहिरका जिल्लामा सुरक्षित हुने भएकोले काठमाडौं नआउन र सम्भव भएसम्म काठमाडौ नबस्न उनीहरुले सुझाव दिएका छन् ।
यसरी समुदायमा नै कोरोना फैलिए पनि बचेर नियमित काम गर्नुको विकल्प नभएको स्वास्थ्य विदहरुको भनाइ छ । अब आर्थिक र सामाजिक आधारमा पनि लकडाउन गरेर साध्य नहुने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर नियमित कामलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।
कर्मचारीलाई नै कोरोना संक्रमण भएपछि काठमाडौ उपत्यकाका कतिपय कार्यालयहरु बन्द गरिएका छन् । त्यसैगरी केही कर्मचारीलाइ कोरोना संक्रमण भएपछि ललितपुरको मालपोत र नापी कार्यालय, काठमाडौ सानो र ठूलो भर्याङमा रहेका यातायात कार्यालय बन्द गरिएका छन् ।
भक्तपुर जगातीस्थित यातायात कार्यालय र काठमाडौ उपत्यकामा रहेका अधिकांश बैकका शाखा कार्यालय पनि कोरोनाका कारण बन्द छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले बन्दको विकल्प खोजी सावधानीका साथ कार्यालयहरु सञ्चालन गर्न सुझाव दिएका छन् ।