‘कोरोना संक्रमण लुकाउनुभन्दा जानकारी दिँदा राम्रो’
Wednesday, October 7th, 2020, 12:53 pm
amit
काठमाडाैं, २१ असाेज । पहिले सङ्क्रमितले न आफूले सङ्क्रमण भएको जानकारी गराउथे, न सरकारले नै । अहिले यसरी कोभिड–१९ को सङ्क्रमितहरु आफैँ खुल्न थालेका छन् ।
विशेषगरी सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिँदै आएका छन् । यस सूचीमा थुप्रै राजनीतिक दलका नेता, कलाकार, चिकित्सकलगायत अन्य व्यक्तिहरु छन् ।
उनीहरु जस्ता समाजका जिम्मेवार व्यक्तिले आफू सङ्क्रमित भएको जानकारी गराउँदै सङ्क्रमणबाट बच्न सबैलाई अनुरोधसमेत गरेका छन् ।
सरकारले सङ्क्रमितको बारेमा जानकारी नगराए पनि सङ्क्रमित आफैँ खुल्न थालेका हुन् । अहिले सङ्क्रमित भएको अवस्थामा नै उनीहरुले कोभिड–१९ बाट बच्नका लागि उच्च सर्तकता राख्नसमेत अनुरोध गर्दै सामाजिक सञ्जालमा भिडियो बनाउने गरेका छन् । नेपालको पहिलो सङ्क्रमित को हो भनेर अझै सरकारले खुलाएको छैन ।
चीनको वुहान शहरबाट नेपाल आएका ती व्यक्ति को हुन् कहिले सङ्क्रमण भएको र कहिले निको भएको हो भन्ने सरकारले अझै औपचारिक रुपमा जानकारी गराएको छैन ।
ती व्यक्तिलाई माघ १० गते सङ्क्रमण भएको मात्र मन्त्रालयले अनौपचारिक रुपमा जानकारी गराएको छ ।
अहिले सङ्क्रमण फैलिन थालेपछि सङ्क्रमितहरु भने आफैँ सङ्क्रमण भएको जानकारी गराउँदै आएका छन् ।
अहिले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित, निको र निधन हुनेको जानकारी गराउँदै आएका छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सङ्क्रमित भएको रिर्पोट सिधँ सम्बन्धित व्यक्तिलाई दिने भनेको छ ।
पहिले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र रिर्पाेट दिने गर्दथ्यो ।
महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमित व्यक्तिले अरुलाई पनि सङ्क्रमण नहोस् भनेर जानकारी गराउन पनि सङ्क्रमित खुल्ने गरेको बताउँछन् ।
उपत्यकामा पनि घरबेटीले चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण सङ्क्रमितलाई बस्न नदिएको कुरा सार्वजनिक भएको थियो । मन्त्रालयले पटकपटक सङ्क्रमितलाई घरबाट ननिकाल्न घरबेटीलाई आग्रह गर्दै आइरहेको छ ।
मनोचिकित्सक डा अरुणा उप्रेतीले कोभिड–१९ को त्रास कम हुँदै जानु र विस्तारै सचेतना फैलिँदै गएपछि सङ्क्रमित खुल्न थालेको बताउँनछन् । उनले अहिले शिक्षित, बुद्धिजीवी सङ्क्रमणबारे खुल्न थालेको बताए ।
“पहिले पनि क्षयरोग, कुष्टरोग, एचआइभी एड्सजस्ता रोगलाई लुकाउने गरेको थियो । औषधि बनेपछि ती रोगका बिरामी आफैँ खुल्न थालेका थिए । शुरु शुरुमा कोभिड–१९ लागेको मानिसलाई सङ्क्रण देखिएपछि घरपरिवार र समुदायका मानिस सबैलाई सर्छ भन्ने थियो । अहिले त्यस्तो देखिएन । कोभिड–१९ केही होइन भन्ने मानिसमा सचेतना भयो । त्यही भएर खुल्न थालेका छन्,” उनले भने ।
कोभिड–१९ बाट सङ्क्रमित पत्रकार मात्रिका पौडेलले सार्वजनिक ठाउँ समारोहमा जाने व्यक्तिमा सङ्क्रमित भयो भनेर जानकारी गराउँदा सम्पर्कमा आएमा मानिसले सतर्कता अपनाउने बताउँछन् ।
उनलाई गत बिहीबार सङ्क्रमण भएको थियो । उनले आफू पहिल्यैदेखि नै जनतासँग प्रत्यक्ष भेटघाट गर्ने व्यक्ति सङ्क्रमित भएको खण्डमा सबैलाई जानकारी गराउनु भन्दै आएको बताए ।
“हामी धेरै मानिससँग सम्पर्कमा गएका हुन्छौँ । हामीले को कोलाई भेटेको भन्ने थाहा हुँदैन । त्यही भएर सार्वजनिक व्यक्तिले सङ्क्रमण भएको जानकारी गराउँदा अरुले सजकता अपनाउँछन्,” उनले भने ।
मनोचिकित्सक डा उप्रेतीले अहिले पनि गाउँघरमा सङ्क्रमित खुल्न नसकेको बताउँछन् । उनले समाजमा सङ्क्रमितलाई भेदभावको रुपमा हेर्ने जस्ता क्रियाकलाप हुँदै आएको जानकारी दिए ।