कर्णाली प्रदेश नेकपा विवाद : कर्णालीका नेताहरुलाई प्रधानमन्त्रीले तत्काल काठमाण्डौ नछोड्न दिए निर्देशन
Saturday, October 17th, 2020, 5:57 pm
amit
काठमाण्डौ, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका नेकपा पदाधिकारीहरुलाई तत्काल काठमाण्डौ नछोड्न निर्देशन दिएका छन्।
शनिबार बिहान बालुवाटारमा कर्णाली प्रदेश कमिटिमा आएको विवादबारे पदाधिकारीहरुको ब्रिफिङ सुनेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानन्त्रीसमेत रहेका ओलीले यस्तो निर्देशन दिएका हुन्।
भेटमा सहभागी एक नेताका अनुसार पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानन्त्रीसमेत रहेका ओलीले दुई अध्यक्ष बसेर सल्लाह गर्ने बताउँदै छलफल नगर्दासम्म काठमाण्डौ नछोड्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले असोज २७ गते पत्र काट्दै काठमाण्डौ बोलाएका थिए।
प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनअघि काठमाण्डौ आएका उनीहरुले बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग पनि बेग्लाबेग्लै रिपोर्टिङ गरेका थिए।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल तथा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सासद चन्द्रबहादुर शाही र निलम्बित सचेतक गुलाबजंग शाहले शनिबार प्रधानमन्त्री ओलीसँग सामुहिक व्रिफिङ गरेका हुन्।