प्रेस काउन्सिलका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनलाइन उजुरीबाहेक सबै सेवा बन्द
Monday, October 19th, 2020, 5:32 pm
amit
काठमाण्डौ, ३ कार्तिक । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह आजदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को सङ्क्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन्।
उपप्रशासकीय अधिकृत बोहराका अनुसार काउन्सिलका चार जना कर्मचारीलाई सङ्क्रमण देखिएकाले अन्य कर्मचारीमा समेत सङ्क्रमणको भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै दशैँ अगाडि सबै सेवा स्थागित गरिएको हो।
जारी सूचनामा भनिएको छ, “दशैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड– १९ को सङ्क्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट अनलाइन उजरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ।”
काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको हुनाले काउन्सिलका अनलाइन उजुरीबाहेक सबै सेवा बन्द गरिएको हो।