श्रम स्वीकृति लिएर मात्रै टिकट लिन आग्रह
Saturday, November 28th, 2020, 6:05 pm
amit
काठमान्डौ, १३ मङ्सिर। वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्रै टिकट लिन सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।
केही दिनयता टिक लिएर श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीहरुको चाप बढ्दै गएकाले श्रम स्वीकृति हुन नसके कार्यालय जवाफदेही नहुने उल्लेख गरेको हो ।वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । कसैको श्रम स्वीकृतिको म्याद बाँकी भए कम्तिमा ९१ दिन उडान गर्ने दिन बाँकी राखी श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
तर सेवाग्राहीहरुले आज मेरो टिकट छ भन्दै श्रम स्वीकृतिको टोकन अगाडि सार्न लगाउने प्रवृत्ति बढेको कार्यालयले जनाएको छ । सेवाग्राहीको टिकट नछुटोस् भनेर कार्यालयले वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पिसिआर रिपोर्ट तथा भिसा समाप्त हुनेका हकमा सो कागजात हेरी टोकन अगाडि सारेर समेत सेवा प्रवाह गर्दै आएको उल्लेख गरेको छ ।
यसरी सेवा प्रवाह गर्दा कार्यालयको कार्यसम्पादनमाथि प्रश्न उठ्ने भन्दै कार्यालयले टोकन अगाडि सारेर सेवा प्रवाह नगर्ने जानकारी दिएको हो । सेवाग्राहीको चाप बढेसँगै कार्यालयले मंसीर १४ गतेदेखि दैनिक ३ सय टोकन जारी गर्ने व्यवस्था गरेको छ ।