१४ लाख रुपैयाँभन्दा बढीमा बनेको तुइन, बजेट दुरुपयोग भएको स्थानीयको गुनासो
Sunday, November 29th, 2020, 4:32 pm
amit
हुम्ला, १४ मंसिर । खार्पुनाथ गाउँपालिका–५ स्थित याङचुको तुम्लिखमा १४ लाख रुपयाँभन्दा बढी लगानीमा निर्माण भएको तुइन अझैसम्म पनि विस्थापित हुन सकेको छैन । गाउँपालिकाको केन्द्र याङचु बगरमा आवतजावत गर्न गाउँपालिकाले ०७६ सालमा १४ लाखमा तुइन निर्माण गरेको थियो ।
गाउँपालिका केन्द्र पुग्न पुल नभएपछि १४ लाख ७४ हजार ७१ रुपैयामा तुइन निर्माण गरिएको थियो । गाउँपालिकाले नदी वारपार गर्ने पुल नुहँदा ०७६ साल पुषमा सम्झौता गरी ०७६ साल पुषमै तुइन निर्माण गरेको हो ।
तुइन निर्माण गरी गाँउपालिकाको बजेट दुरुपयोग भएको स्थानीयहरुले त्यसैबेलादेखि गुनासो गर्दै आएका थिए । तुइनबाट वारपार गर्न धेरै कठिन हुेन गरेको र धेरै स्थानीयहरुको त हात र औँला नै तुइन वारपार गर्दा काटेको स्थानीइको भनाइ छ ।
गाउँपालिकाले निर्माण गरेको तुइनको लठ्ठा पनि पुराना पुलबाट झिकेर प्रयोग भएको स्थानीयको भनाइ छ । यो तुइनमा प्रयोग भएका सामाग्रीहरु बाहिरबाट ल्याउँदा अलि बढी पर्ने भएपनि ३/४ लाखमा तुइन निर्माण हने स्वयं प्राविधिक नै बताउँछन ।
त्यसो त तुइनमा लागेको खर्चको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षको पनि दुई फरक फरक मत रहेको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल ८/९ लाखमा तुइन निर्माण भएको बताउँछन् ।
उता प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले तुम्लिखमा १० लाख र बोक्चे गौडामा ४ लाख गरी १४ लाख तुइन बनाउन बजेट खर्च भएको स्वीकार गर्छन् ।
आर्थिक वर्ष २०७६/७७ को अन्तिममा तुम्लिख र बोक्चे गौडा गरी दुई स्थानमा तुइन निर्माण भएको थियो । यसका लागि सामान बाहिरबाट ल्याउँदा महँगो परेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।
शाहीले दुई स्थानमा भनिए पनि गाउँपालिकाले खार्पुनाथ तुम्लिखमा मात्रै १४ लाख ७४ हजार ७१ रुपैयामा तुइन निर्माण भएको बताएका छन् ।