बार्सिलोनाको शानदार जित, म्याराडोना सम्झिँदा मेस्सीलाई पहेँलो कार्ड
Sunday, November 29th, 2020, 8:55 pm
amit
काठमाडौं, १४ मंसिर । स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । आइतबार बार्सिलोनाले आफ्नै मैदानमा ओसासुनालाई ४–० गोलले हराएको हो ।
नोउ क्यापमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सी, मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमान र फिलिप्पे कोउटिन्होले एक–एक गोल गरे ।
बार्सिलोनाले ब्रेथवेटको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको २९ औं मिनेटमा ब्रेथवेटले गोल गरेका थिए ।
यस्तै खेलको ४२ औं मिनेटमा ग्रिजमानले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।
खेलको ५७ औं मिनेटमा कोउटिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० गोलले अगाडि बढेको थियो ।
खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गरे । गोलपछि हालै निधन भएका अर्जेन्टिनी लिजेन्ड म्याराडोनाको सम्झनामा सेलिब्रेसन गर्दा रेफ्रीले मेस्सीलाई पहेँलो कार्ड दिएका थिए । मेस्सीले आफ्नो जर्सी फुकालेर म्याराडोनालाई सम्झिएका थिए ।
उनले अर्जेन्टिनी क्लब न्युवेल्स ओल्ड ब्वाईजको जर्सी देखाउँदै म्याराडोनाप्रति सम्मान प्रकट गरे । अर्जेन्टिनामा म्याराडोनाले न्युवेल्स ओल्ड ब्वाईजबाट व्यवसायिक फुटबल खेलेका थिए भने मेसीले सोही क्लबबाट फुटबल यात्रा शुरु गरेका थिए ।
यस जितसँगै सातौं स्थानको बार्सिलोनाले ९ खेलबाट १४ अंक जोडेको छ । ओसासुना भने ११ अंकका साथ १५ औं स्थानमा छ ।