अर्थमन्त्री पाैडेल भन्छन् : कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत
Monday, November 30th, 2020, 12:43 pm
amit
काठमाडौँ, १५ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन् ।
काठमाडाैंमा आयोजित एक कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए । उनले सरकारको सामर्थ्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरे ।
उनले भने, “समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।”
उनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी दिए ।
सो कार्यका लागि अर्थ मन्त्रालयले रु ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।