तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
Wednesday, December 2nd, 2020, 5:47 pm
amit
दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई ब्यास नगरपालिका १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला मोटरेबल पूलको उद्घाटन गर्ने क्रममा भएको प्रदर्शनमा तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो ।
वरिष्ठ नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुक मार्फत जानकारी दिनुभएको छ । उहाँले फेसबुक पेज मार्फत भन्नुभएको छ – ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ।‘
संघीय सरकारको बजेटमा बनेको उक्त पुल उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको थियो।
निषेधाज्ञा लगाइएको समयमा पुल उद्घाटन गर्न भन्दै कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित नेता पौडेलले निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको तनहुँ प्रहरीले जनाएको छ ।
कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज अश्रुग्यासको सेल हानेको थियो । प्रहरीले नेता पौडेल संगै प्रदेश सांसद सरिता गुरुङ लगायतका केहि नेता कार्यकर्ता लाई पक्राउ गरेको छ ।
संघीय सरकारको बजेटमा सम्पन्न भएका बिकास निर्माणमा पौडेलले जस लिन खोजेको भन्दै युवासंघले बिरोध जनाएपछि विवाद उत्पन्न भएको हो ।