कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना,बेहुला-बेहुली सहित १३ जना घाइते
Thursday, December 3rd, 2020, 10:01 am
amit
धनगढी,१८ मङ्सिर । कैलालीको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गयराती जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी बेहुला-बेहुली सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ बर्सिया दुलही डम्मरा लावड,बेलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
यस्तै दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ बर्सिया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।