विगतको चुनावमा धेरै उठे, जित्न पर्ने संख्याकाले मात्र जिते । तर, तिनका नारा, बोलेका कुराका चुरो, तिनले भाकेका भाकलहरु के–कति पूरा भए, तिनका हिसाब भने सदस्यहरुले अवश्य खोज्लान्, कसका दूध कसका पानी अबको चुनावी जालीले छनिएला । खैर, यस पटक एनआरएनमा सबै तहका व्यक्तिहरुसँग जम्काभेट भयो । त्यहाँ आफूले मन पराएर चुनाव हारेका पनि थिए, मन नपराएर चुनाव जितेका पनि थिए । आफूले भोट दिएर जितेका त हुने नै भए, जित्नेहरुले सम्मेलन कहाँको छाड्छन् र किनकी बहुसंख्यकलाई आगामी चुनावमा लड्ने र ‘समाजसेवा’ गर्ने चाह जाग्दछ ।
धेरैले उम्मेदवारी घोषणा गर्ने आँकलन गरिएको डालसको सम्मेलनमा कसैको रुद्रघन्टीले उठ्ने आवाज बोलेन । मञ्च पाएनन् भनौं भने नेपाल अमेरिका पत्रकार संघ (संघ)ले आयोजना गरेको एनआरएन अन्तक्रिया कार्यक्रममा प्रायः सबै उपस्थित थिए, जो भोलि उठ्ने आकांक्षीका रुपका गणित थिए । तर, सबै पणित (पण्डित) भए, स्वाहा भने, उम्मेदवारीको मन्त्र पढेनन् ।
औपचारिक तवरले कसैले मुख नबाए पनि धेरैका जिब्राहरु भने चले । होटेलले सित्तैमा बाँडेको भनिएको कफी पिउँदा होस् या पैसा तिर्नैपर्ने दारे बारमा होस्, जिब्राहरु धेरैका सल्बलाए । अझ सम्मेलनको उद्घाटन सत्र चलिरहँदा भात खाने ठूलो हलका कुनामा केही टेबलमा कोहीहरु साउती मार्दै थिए । काउकुती लागेपछि हाँसो आउँछ, साउती मारेपछि पासो आउँछ ।
तर एउटा कुरा सुनेपछि हाँसो आउँछ ।
‘नमस्कार हजुर’, मैले भनें ।
उहाँले जवाफ दिनुभयो – नमस्कार फलानो ।
‘सञ्चै ? चुनाव आयो त ! यो सम्मेलन त चुनावी प्रचारको बहाना त होला’, मैले प्रश्न तेस्र्याएँ ।
उहाँ- ‘हे हे । फलानो पनि । कुरो त त्यही त हो नि । तर लौन, क्यारुम म ? सदस्य जितें । च्याप्टर अध्यक्ष भएँ ।’
अरु उहाँहरुः फलानो पदमा यसो गरें, संस्थामा आएर यस्तो क्रान्ति भयो ।
मः त्यही त, केमा लड्ने त, हजुर ?
उहाँहरुः यसपालि उपाध्यक्षमा लड्ने विचार गरेको छु, मैले त ।
मः ल, यहाँलाई शुभकामना ।
उहाँहरुः मिलाएर ऊ गरेर, यसो ऊ गर्नुप¥यो है, फलानो ?
मः ह्या, भइहाल्छ नि, हजुर हाम्रै मान्छे ।
उहाँहरुः ल, म ढुक्क भएँ है त । हस्, जय नेपाल, अभिवादन, जय एनआरएन ।
मः हजुर वरिष्ठ हस्त नमस्ते ।
यस्तै भयो यसपाली, डालसमा । सित्तैको कफी पिउँदा वा सशुल्क प्याला तान्दा ।
खानियाँ भेटे पनि उपाध्यक्ष लड्छु भन्छन्, बानियाँ भेटे पनि उपाध्यक्ष लड्छु म त भन्छन् । च्याप्टर अध्यक्ष जेदु भेटे पनि उपाध्यक्ष लड्छु भन्छ, च्याप्टर सदस्य यदु भेटे पनि उपाध्यक्ष लड्छु भन्छन् । सविना भेटे पनि उपाध्यक्ष भन्छिन्, रबिना भेटे पनि उपाध्यक्ष लड्छु भन्छिन् । तलदेखि माथि उपाध्यक्ष भन्छन्, हिजो चिनेका साथी उपाध्यक्ष भन्छन् । जो भेट्यो उनीहरु, हजुर म त अब उपाध्यक्ष लड्ने हो भन्छन् ।
त्यसो त उठ्न चाहनेहरुलाई सर्वाधिक महँगो र सुन्ने कानेहरुलाई सर्वाधिक सुनियो, यो उपाध्यक्ष पद, एनआएएनको । संस्थामा त अध्यक्ष पो त प्यारो पद । हुन त डा. पौडेलजस्तो हप्तैपिच्छे कहिले क्यालिफोर्निया, कहिले न्यूयोर्क कुद्नुप¥र्यो । अध्यक्षचाहिं पा’को हो क्या वर्तमान कार्यसमितिले । खैर, त्यसो त डा. पौडेलजस्तो कुद्न पनि नपर्ने (सबैमा यो लागू हुँदैन है, रिसानी लेखानी माफानाम भवन्तु), व्यस्तताले अध्यक्ष नपुगेको ठाउँको कार्यक्रमको सभापति पनि हुन पाइने । प्रचार मिडिया संयोजकले हेर्ने, समाचार–वक्तव्य महासचिवले हेर्ने, सकेको वरिष्ठ उपाध्यक्षले हेर्ने, नसकेको सचिवले हेर्ने । यो उपाध्यक्ष पद त केही गर्नैै नपर्ने ।
बरियतामा (पदमा भनिने हिसाबले) तेस्रो होइने, मन नपरेको विरोध गर्दा म पनि ‘उपाध्यक्ष हुँ, मुले’ भन्न पाइने, काम होइन कम गरे’नि बरियतामा परिरहने । स्ववियु चुनावमा पाखुरा दह्रो भएकालाई उपाध्यक्ष राखिने चलन थियो, अझै विद्यार्थी संगठनका क्याम्पसे इकाई समितिमा, विशेषगरी राजधानीमा । अमेरिकामा त पाखुरा दह्रो हुनु पनि नपर्ने । ‘मिलाएर समूह’मा परे भयो ।
यो माथिको सत्य कथाको मतलब, यसपालि पदीय आकांक्षाका जो भेटियो, यो दुवा–तिर्कीलाई कखरे भनेर–ठानेर होला, दुला परेका दुई ठूला मेरा कानहरुले ‘हजुर, म त अब उही त हो नि, उपाध्यक्षमै ठोक्ने हो’ भनेको ८० प्रतिशत सुनें । यो उपाध्यक्ष पद यति सस्तो भयो नि, एनआरएनको ! राजनीति आ–आफ्ना वादमा होलान्, संस्थामा काम गर्ने मान्छेले जित्नुपर्दछ । उपाध्यक्ष पदको ‘चार्म’ नगण्य भएर होला, सूर्य लम्सालजस्ता विद्वान्ले पहिले यही पदमा हारेका । त्यहाँ हारेर पनि संगठनप्रति उहाँको लगावले सदस्य लडेर जित्नुभयो । तमासा अब यहाँ छ, काम गर्ने लम्सालजस्ता मान्छेले उपाध्यक्ष फेरि लडे भने हार्न सक्छन्, किनकी करेलाहरु धेरै पो निस्किए त बजारमा, बिक्रीका लागि । तिते करेला ओखती नै भए पनि एक डालो त कसले किन्छ र ?
घोषणाको क्रमलाई हेर्ने हो भने एनआरएन अमेरिकाको बजारमा कम्तीमा १६ जना उपाध्यक्षका उम्मेदवार देखिने छाँट छ । तीन जना छान्नु पर्नेमा आपत हामीलाई । फेरि दिएको भोट पनि विश्वास गर्छन् र ? मोबाइलमा श्रीमतीको तीजको फोटोले भरिएको जिबीमा तिनलाई देखाउन भोट हालेको प्रमाणका लागि फोटो खाँदी–खाँदी राख्नुपर्ने बाध्यता छ ।
जे सुनियो, देख्नमा आयो, त्यही भनेको मात्र हो । १६ जना त के, १ सय ६० जना उठ्नुभए पनि तपाईं हामी सबै प्रवासी । यहाँहरु सबैलाई शुभकामना ! भन्दै गर्नुस्, हजुर म त अब उपाध्यक्ष । मिलाएर भोट हालुम्ला ।
जय एनआरएन ।
लस एन्जलस, क्यालिफोर्निया