काठमाडौं र धादिङ दुवैतर्फ पोर्टल बनाएर खन्न थालियो नागढुंगा सुरुङ मार्ग
Friday, December 4th, 2020, 11:57 am
amit
काठमाण्डौ । काठमाडौं र धादिङ दुवैतर्फ सुरुङभित्र छिर्ने मुख अर्थात पोर्टल बनाएर नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्वाल पार्ने काम सुरु भएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको जनाएको छ ।
विस्फोटक पदार्थबिनै करिब ३० मिटर प्वाल पारिने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । एक महिनाभित्र विस्फोट गराउने काम सुरु हुने आयोजनाको भनाइ छ । त्यसका लागि भारतबाट ३ सय टन विस्फोटक पदार्थ ल्याइएको छ ।
निर्माण कम्पनीले विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्न थालेको १३ महिनाभित्र सुरुङ प्वाल वारपार पार्ने काम सक्ने बताएका छन् ।
अहिले सुरुङविज्ञसहित २० जनाको विदेशी प्राविधिक टोली फिल्डमा रहेको र आवश्यकताअनुसार प्राविधिक थप गर्दै लगिने आयोजनाले बताएको छ साथै २ सयभन्दा बढी कामदार निर्माणस्थलमा सक्रिय छन् ।
सुरुङ निर्माण थालेको १ वर्ष बितिसक्दा पनि अहिलेसम्म सोचेजस्तो प्रगति नदेखिएको र ठेक्का सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । अब निर्माणको समय ३० महिना मात्र बाँकी छ ।
आयोजना निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको छ । २ दशमलव ६८ किमि दूरीको सुरुङ बनाउन जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।
नागढुंगादेखि सिस्नेखोलासम्मको दूरी साढे ८ किमि छ । सुरुङ बनेपछि उक्त दूरी ३ किमिमा झर्ने आयोजनाले जानकारी दिएको छ । यो खण्डमा सबैभन्दा बढी ट्राफिक जाम हुने गरेको छ ।