मध्यपहाडी लोकमार्गमा ९ सय १३ किलोमिटर कालोपत्रे पुरा
Friday, December 4th, 2020, 1:26 pm
amit
काठमाडौं । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको कुल लम्बाइ १ हजार ८ सय ७९ किलोमिटरमध्ये ९ सय १३ किमि कालोपत्रे भएको छ । साथै, भौतिक प्रगति आधा अर्थात ४८.५९ प्रतिशत पुरा भएको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ ।
आयोजना निर्देशनालयका अनुसार ६ सय ४५ किमिमा कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने ठेक्का व्यवस्थापन भइसकेको छ । बाँकी ३ सय २१ किमि सडकमध्ये ९३ किमि कालोपत्रे स्तरमा स्तरोन्नति गर्न चालु आवमा सूचना प्रकाशन भइसकेको छ । १ सय २८ किमि सडक कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने ठेक्का व्यवस्थापनका क्रममा छ ।
कोरोनाको विषम परिस्थिति भए पनि ३९.३३ किमि सडक कालोपत्रे गरिएको छ । ८४.२ किमि ग्राभेल सडक निर्माण, ७०.४२ किमि सडक चौडा गर्ने कार्य र ५ वटा पुल निर्माण सम्पन्न गरिएको निर्देशनालयले जानकारी दिएको छ ।
लोकमार्गका कुल १ सय २९ पुलमध्ये ८३ वटाको निर्माण सम्पन्न भएको छ । आयोजनामा ०७६र७७ सम्म १ सय २९ वटा चालु ठेक्का छन्।
मध्यपहाडी क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि लोकमार्ग निर्माण थालिएको हो । लोकमार्ग आसपास १० वटा नयाँ सहर बनाउने योजना छ ।
यो आयोजना ०६४र६५ देखि सुरु गरी ०७४र७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । संशोधित कार्यतालिकाअनुसार ०७९र८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस आयोजनाको प्रारिम्भक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ थियो। हाल संशोधित कुल लागत करिब ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ४७ अर्ब १५ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
कोभिड–१९ ले आयोजनालाई तोकिएको अवधिभन्दा पछि धकेलेको हो ।