अमेरिका–मेक्सिको विवाद उत्कर्षमा : ट्रम्पले भने, ‘पर्खालको पैसा नतिर्ने भए राष्ट्रपति अमेरिका आउनुपर्दैन’
Friday, January 27th, 2017, 3:06 am
amit
वासिङटन – डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पद सम्हालेको एक हप्ता पनि पुगेको छैन तर, एउटा पर्खाललाई लिएर अमेरिका र छिमेक राष्ट्र मेक्सिकोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ ।
बिहिबार ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले दुई देशको सीमामा बन्ने पर्खालको निर्माण खर्च तिर्न नमाने यो महिनाको अन्त्यमा हुने भनिएको मेक्सिकोका राष्ट्रपतिसँगको भेटघाट रद्द गर्ने चेतावनी दिएका छन्।
मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोले पुनः आफ्नो देशले उक्त पर्खालको निर्माणका लागि रकम नतिर्ने दोहोराएपछि ट्रम्पले कडा प्रतिक्रिया जनाएका हुन् ।
दुई नेताबीच जनवारी ३१ मा ह्वाइट हाउसमा छलफल तय भएको थियो ।
‘यदी अति आवश्यक रहेको पर्खालका लागि मेक्सिकोले पैसा तिर्न चहाँदैन भने आगामी भेटघाट रद्द गरेको राम्रो,’ ट्रम्पले ट्वीट गर्दै बताए ।
यस ट्वीटको ठीक अघि उनले मेक्सिको र अमेरिकाबीचको व्यापार घाटा र नाफ्टाका कारण अमेरिकीहरुले रोजगारी गुमाइरहेको कुरा उल्लेख गरेका थिए ।
बुधबार राती पेना निएटोले आफ्नो भ्रमण रद्द गर्नुपर्ने कुनै कारण नरहेको बताए पनि आफ्नो देशले पर्खालका लागि पैसा नतिर्ने दोहोराएका थिए ।
‘मेक्सिको पर्खालमा विश्वास गर्दैन । मैले पटक पटक भनेको छु, मेक्सिकोले पर्खालका लागि पैसा तिर्ने छैन,’ भिडियो वक्तव्य जारी गर्दै उनले भनेका थिए ।
हुनतः दुई नेताबीच ट्रम्पको चुनावी प्रचारका दौरान नै वादप्रतिवाद शुरु भइसकेको थियो । चुनावी अभियानका दौरान अमेरिका छिर्ने मेक्सिनलाई अपाराधी र बलात्कारी भनेपछि शुरु भएको विवाद अभियान भरी नै चल्यो ।
बुधबार ट्रम्पले पर्खाल निर्माण गर्ने कार्यकारी निर्णय गरेपछि पछिल्लो २४ घण्टा यो विवाद पुनः बल्झिएको छ ।
रोचक कुरा मेक्सिकोबाट उच्चस्तरीय टोलीले ह्वाइट हाउसको भ्रमण गरिरहेको बेला उनले सो निर्णय लिएका थिए । ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिका आउने पहिलो विदेशी प्रतिनिधि थिए । उनीहरु राष्ट्रपति भ्रमणको तयारीमा त्यहाँ पुगेका थिए ।
ट्रम्पको पछिल्लो प्रतिक्रियापछि मेक्सिकोका राष्ट्रपतिले वासिङटनमा रहेका उच्च अधिकारीसँग छलफल पछि अमेरिकाको भ्रमणबारे निर्णय लिने बताएका छन् ।