स्वच्छता तर्फ लम्कदैछन संघर्षका पाइला
Tuesday, March 23rd, 2021, 10:10 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १० चैत
बर्दियाको सीमानसँग जोडिएको छ बाँके खजुराको न्याउली बस्ती । जहाँ अधिकांश मानिसको आयस्तर निम्न छ । खजुरा गाउँपालिका–१ मा पर्ने न्याउली बस्तीका धेरै मानिसलाई दैनिक गुजारा चलाउन समस्या छ । दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका छन्, यहाँका जनता । संघर्षपूर्ण जीवन बिताइरहेका मानिसलाई कोरोनाले झन समस्या थपिँदियो । समस्यासँग जुधिरहेका न्याउलीडाँडाका जनताले पछिल्लो समय आफ्नो जीवनमा परिवर्तन भएको महशुस गरेको बताएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) र अक्सफाम नेपालको साझेदारीमा संचालित ‘स्वच्छताका लागि व्यवहार परिवर्तन’ परियोजनाअन्तर्गत सामुदायिकस्तरमा अनुभव आदान–प्रदान कार्यक्रम सहभागी भएका महिलाहरुले आफूहरुमा स्वास्थ्यसम्बन्धी चेतनाको विकास भएको बताए ।
खजुरा–१, न्याउलीडाँडा निवासी रमेली थापाले अक्सफामको सहयोगमा बी–ग्रुपले संचालन गरेको कार्यक्रमले आफूहरुको व्यवहार परिवर्तन गरेर अगाडि बढ्न हौसला दिएको बताइन । उनले भनिन्, ‘बी–गु्रपका बहिनीहरुले धेरै राम्रो कुरा सिकाउनु भएको छ । कसरी हात थुनँे । महिनावारी हुँदा के गर्ने भन्ने सिकाउनु भयो । साबुन पानीले हात थुने तरिका सिकाउनु भएको छ । साबुन नभएको बेला खरानीले भएपनि थुने बानी गर्नुपर्छ भन्ने मैले सिकेँ ।’
न्याउलीडाँडाकै रेश्मा थापा गरिब बस्तीलाई छनोट गरेर बी–ग्रुपले गरेको कार्यक्रमले राहत पुगेको बताइन । उनले आफ्नो अनुभव सुनाउने क्रममा भनिन्,‘पिडडिएको वर्ग भएको गाउँ हो न्याउलीडाँडा । कोरोनाले त झन धेरै समस्या थपेको छ । राहत दिँदा बी–ग्रुपले दुखी गरिबलाई छनोट गरेर दिनुभयो । हामी खुसी छौं । राहत पनि पायौं । कोरोनासँगै अन्य रोगहरुबाट कसरी बच्ने भन्ने सिक्यौं ।’
आफ्ना अनुभव सुनाउँदै गर्दा रेश्मा गाउँमा रोजगारीको समस्या प्रमुख रहेको बताइन । उनले थपिन्,‘हाम्रो गाउँमा रोजगारी नपाएर धेरै मानिस घरमै बसेका छन् । बिहान बेलुकाको छाक टार्न पनि गाह्रो छ । हामीलाई रोजगारीको समस्या छ । यस्तो गाउँमा बी–ग्रुपले हामीलाई थोरै भएपनि सहयोग गरेको छ । स्वास्थ्यका बारेमा धेरै कुरा सिकाएको छ । यसले हाम्रो बानीमा परिवर्तन भएको छ ।’
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना न्याउली डाँडामा जस्तै खजुरा गाउँपालिका–२ को सत्याल टोलमा परिवर्तनमा सहयोग बनेको छ । सत्याल टोलीमा करिब ३२ घरधुर छन् । यहाँको पनि प्रमुख समस्या रोजगार हो । यहाँका जनतालाई आफ्नो आर्थिक अवस्था सुधार गर्न निकै कठिन भइरहेको छ । पिछडिएको बस्तीका मानिसमा परियोजनाले सामाजिकसँगै स्वास्थ्यसम्बन्धी ज्ञानको आदान–प्रदान गर्न सहयोग गरेको बताउँछिन्, सत्याल टोलकी पानमती सुनार ।
लैंगिक हिंसाको सिकार आफू पनि भएको उनले बताइन । पानमती भन्छिन्, ‘लैंगिक हिंसाको सिकार म पनि हुँ । मेरो आमाले ६ वटा छोरीको जन्मदिएपछि बुबाले अर्को विवाह गर्नु भयो । यसमा मेरो आमाको के दोष थियो । छोरीलाई जन्मदिँदा अझै पनि हाम्रो समाजले हेलाको दृष्टिले हेर्छ । यसमा परिवर्तन हुनुपर्छ भन्ने चेतनामा हामीमा छैन । यसको बारेमा पनि बी–ग्रुपका बहिनीहरुले सिकाउनु भयो । यसले पक्कै पनि आगामी दिनमा हाम्रो टोलीमा सुधार गर्न सहयोग गर्नेछ ।’
महिनावारीको बारेमा पनि समाजमा अझै चेतनाको कमी भएको सत्यालले बताइन । उनले भनिन्, ‘थोरै समयमा पनि हामीले धेरै कुरा सिक्ने अवसर पायौं । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्छ । तर अझै पनि हाम्रो समाजमा महिनावारी हुँदा केहि समस्या आए देउतालाई सुकेन भन्छन् । महिनावारी त महिलाको प्राकृतिक कुरा हो । यसमा देउतालाई सुक्दैन भन्नु हाम्रो भ्रम हो ।’
पानमतिकी छिमेकी हुन्, सत्याल टोलकी सुस्मिता सत्याल । बी–ग्रुपको कार्यक्रमले आफ्ना बच्चाहरुलाई स्वस्थ राख्ने ज्ञानको बारेमा सिकेको बताउँछिन्, सुस्मिता । उनले भनिन्, ‘धारा चलाएर हात थुन केटाकेटीलाई गाह्रो हुने गरेको थियो । बाल्टिन पाएपछि हात धुनका लागि सजिलो भएको छ । पहिला पनि हामीले हात त धुने गरेका थियौं । तर कसरी धँुदा प्रभावकारी हुन्छ भन्ने थाहा थिएन । फोहोर सामान छोएपछि र शौचालय गएपछिमात्र हात धुने गरेका थियौं । तर अहिले घर बाहिर गएर फर्किएपछि हात धुनुपर्छ भन्ने सिकियो ।’
विपन्न र समुदायमा पछि परेका वर्गलाई समेटेर कार्यक्रम संचालन गरिएको बताउँछिन्, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना संचालन गरिरहेको बी–ग्रुपकी जनस्वास्थ्य प्रर्वधन अधिकृत दुर्गा पन्थी । यसले गरिब र समस्यामा परेका मानिसको स्वास्थ्य अवस्थालाई सुधार गर्ने विश्वास लिएको पन्थीले बताइन ।
परियोजनाले लैंगिक हिंसाको न्यूनिकरण गर्दै समाज विकासमा महिला पुरुषको सहभागिता समान हुनुपर्छ भन्ने चेतनाको विकास गर्न सहयोग गरेको बताउँछन्, लैंगिक अधिकृत सोम गुरुङ ।
शनिबार भएको सामुदायिकस्तर अनुभव आदान–प्रदान कार्यक्रम उत्कृष्ट बोल्ने महिलाहरुलाई बी–गु्रपले सम्मानसमेत गरेको थियो । संस्थाको तर्फबाट दुर्गा र सोमले सम्मान गरेका थिए ।
साभारः कालपृष्ठ दैनिक
क्याप्सनः अनुभव आदानप्रदान कार्यक्रममा पुरस्कृत भएपछि सामूहिक तस्बिरमा सत्याल टोलका महिला ।