करमोहनावासीद्वारा मालपोतको गेटमा धर्ना
Tuesday, March 23rd, 2021, 12:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० चैत
नेपालगन्ज उप–महानगरपालिका–३ करमोहनाबासीहरुले सोमबार भूमि सुधार तथा मालपोत कार्यलय बाँकेको गेटका धर्ना दिएका छन् । आफूहरुले पूस्तौँदेखि जोतभोग गर्दै आएको र तिरो तिर्दै आएको जग्गा बागेश्वरी मन्दिर गूठीको भन्दै कार्यालयले नक्कली सुचना जारी गरेर रोक्का गरिदिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।
गाउँबाट आएका ज्येष्ठ नागरिकहरुसमेत गेटमा करिब साढे दुई घण्टा चर्काे घाममा धर्नामा बसेका थिए । उनीहरुले कार्यालयले सूचनापाटीमा मिति नै उल्लेख नगरिएको र छाप समेत नभएको सुचना टाँस गरेको र त्यसैका आधारमा जग्गा रोक्का गरिदिएको गुनासो गरे । स्थानीयहरुसँग भएको मालपोत कार्यालयद्वारा जारी गरिएको भनिएको सूचनाको प्रतिमा सुचना जारी गरिएको गते नै उल्लेख छैन भने छापसमेत छैन ।
२०११ सालदेखि तिरो तिरेर बसेको ठाउँबाट सरकारले उठाउन खोजेको भन्दै स्थानीयहरु आन्दोलित हुँदै आएका छन् ।
यसैबिचमा पछिल्लो समय मालपोत बाँकेले पनि आफूहरुको जग्गा गूठीको भन्दै किर्ते सूचना जारी गरेर दुःख दिन थालेको भन्दै धर्नामा उत्रिएको करमोहना गूठी रैतान जग्गा संघर्ष समितिका संयोजक सन्तकुमार वर्माले बताए । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको टोलीले २०७६ भदौ १७ देखि वागेश्वरी मन्दिरका नाममा रहेको गुठीको जग्गाको खोजी गरेको थियो । उक्त टोलीले ५ महिना लगाएर गरेको खोज अनुसन्धानपछि बागेश्वरी मन्दिरको कारमोहनासहित नेपालगन्ज उपमहानगरभित्र पर्ने ८४ बिघा जग्गा मन्दिरका पुजारी र महन्तले आफ्ना नाममा दर्ता गराउने, बेचबिखन गरेको ठहर गर्दै मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने रायसहित सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारले गतवर्ष मन्दिरको जग्गा फिर्ता गर्ने निर्णय गरेको थियो ।
तर करमोहनाबासीहरु जग्गा गूठीको नभई आफूहरुको पुख्र्याैली भएको बताउँदै आएका छन् । आफुहरुसँग जग्गाको सबै प्रमाणहरु रहेकोमा सरकारी जाँचबुझ टोलीले बुझ्दै नबुझी गूठीको जग्गा भनेको उनीहरुको दुःखेसो छ ।
संयोजक वर्माले सोमबार प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र मालपोत कार्यालयका प्रमुख अमरराज सेजुवालसँग छलफल भएको र मंगलबार पुनः छलफल गर्ने निर्णयपछि धर्ना स्थगित गरिएको जानकारी दिए ।