धम्बोझीको लगातार दोस्रो हार
Tuesday, March 23rd, 2021, 1:24 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १० चैत
घरेलु टोली धम्बोझीले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा लगातार दोस्रो हारको सामना गरेको छ । सोमबार सैनिक युथ क्लब झापाले धम्बोझी क्लब बाँकेलाई ३–२ ले हरायो । यसअघि गत आइतबार भएको खेलमा पनि स्टर सिटीसँग धम्बोझीले हार ब्यहोर्नु परेको थियो ।
सोमबार भएको अर्को खेलमा स्टार सिटी युथ क्लब कैलाली र धादिङ समाज धादिङले १–१ को बराबरी खेलेका छन । खेलमा लगातार तीन खेलमा जित हासिल गरेको स्टार सोमबार हार नजिक पुगेको थियो । तर खेलको अन्त्यतिर दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी सकिएको थियो ।
बराबरीबाट १ अंक जोडेको स्टारले चार खेलबाट १० अंक सहित लिगको शिर्ष स्थानमा यथावत नै रहेको छ । ७ अंक सहित धादिङ दोस्रो स्थानमा उक्लिएको छ ।
दिपकले ९२औं मिनेटमा गोल गरे । त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाहले पुरस्कृत गरे ।
त्यसअघि सोमबार भएको पहिलो खेलमा सैनिकको तर्फबाट सुनिल खड्काले २०मिनेट, सुशिल लामाले ३३ मिनेट र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पूर्ण गुरुङले पाँच मिनेट र बिसन गुरुङले ८०औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिक युथका जीवन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फा केन्द्रीय सदस्य प्रदेश सिंह राठोरले पुरस्कृत गरेका थिए ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमति प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशको धम्बोझी क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । प्रतियोगिताको उत्कृष्ट सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।
क्याप्सनः म्यान अफ द म्याच बन्न सफल जीवन गुरुङलाई पुरस्कृत गर्दै एन्फा केन्द्रिय सदस्य प्रदेशसिंह राठोर ।