सामाजिक विभेद अन्त्यका लागि संघर्ष
Sunday, April 11th, 2021, 7:09 pm
Kalpristha
कृष्ण बहादुर विके रसाइली
नेपालमा आर्थिक, शैक्षिक, सांस्कृतिक, धार्मिक र जातिय छुवाछुतको पीडाबाट प्रताडित भएका दलितहरु मुक्तिका लागि लामो संघर्ष गर्दै आइरहेका छन् । नेपालको दलित आन्दोलनको इतिहास धेरै लामो भएतापनि यसको सुरुवात राणा विरोधी आन्दोलन सँगै भएको देखिन्छ ।
राणा विरोधी राजनीतिक आन्दोलन देखि २०६२–६३ को जनआन्दोलनसम्म राजनैतिक दलहरुले दलितमाथि भएका सम्पूर्ण समस्याहरुलाई आफ्नो दलको एजेण्डा बनाएर दलितहरुलाई आन्दोलनमा होम्दा थुप्रै दलितहरुले सहादत प्राप्त गरेतापनि आन्दोलनको सफलतापछि केही मुठ्ठिभर मानिसलाई पदमा पुयाउने र आन्दोलनका समयमा उठाइएका एजेण्डालाई वेवास्ता गर्ने प्रचलन रहँदै आएको छ ।
२०४६–४७ को जनआन्दोलनपछि राजनीतिक संघसंस्था हुन् वा गैरदलितहरुले दलितका लागि संचालन गरेका संघ संस्थाहरु हुन् ।
उनीहरुले समग्र परिवर्तनका लागि अरबौं डलर र राज्यकोषको अरबौं रुपैयाँ खर्चिएर संचालन गरिएका कार्यक्रमले आर्थिक, शैक्षिक, राजनीतिक र रोजगारीमा झिनो सफलता प्राप्त गरेपनि समाजमा जरो गाडेर बसेको छुवाछुत जिउँका त्युँ छ ।
नेपालको संविधान २०४७ र २०७२ ले कानुनीरुपमा सम्पूर्ण जनता समान उल्लेख गरेतापनि विभिन्न समयमा छुवाछुत अन्त्यका लागि बनाइएका ऐन कानुनहरु पनि प्रभावकारी कार्यान्वयन नहुनु र कार्यान्वयन गर्ने निकाय पनि उदासिन हुँदा दलितहरु माथि जातियताका आधारमा अपमान ब्यहोर्नुपर्ने र राज्य त्यसप्रति संवेदशील नभएको देख्दा सामन्ती संस्कारले अभिप्रेरित समाज रहेको पुष्टि हुन्छ ।
छुवाछुत घट्नुको सट्टा बढ्दै गइरहेको देखेर, सुनेर प्रत्यक्ष पीडा भोग्दैं आइरहेका दलितहरु सधैं अरुका लागि लडियो । र यसपटक आफ्नो लागि लड्ने मनस्थिति बनाएर आन्दोलनमा उत्रिन र संघर्ष गर्न जुर्मुराइरहेका छन् ।
यतिबेला दलित समुदायका बौद्धिक व्यक्तित्व, राजनैतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, संघ संस्था र युवा छुवाछुत अन्त्यका लागि लागिपरेका गैर दलित र संघ संस्थाहरु एकताबद्ध भएर सामाजिक विद्रोह गरी छुवाछुत अन्त्य गर्न लाग्नुपर्ने आजको आवश्यकता देखिन्छ ।