नेपालगन्ज र बुटवलमा विद्युतीय बस चलाउने तयारी
Monday, April 19th, 2021, 12:24 pm
Kalpristha
लिलाधर वली
दाङ, ६ वैशाख
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका दुई स्थानमा विद्युतीय बस संचालन गर्ने तयारी गरेको छ । प्रदेश–५ सरकारले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम र बजेटमा बाँकेको नेपालगन्ज–कोहलपुर, दाङको घोराही–तुलसीपुर र रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डमा विद्युतीय बस संचालनको सम्भाव्यता अध्ययन र विकास गर्ने घोषणा गरेको थियो । तर, दाङमा सडक विस्तारको काममा ढिलाई भएका कारणहाललाई उक्त सडकमा विद्युतीय बस सञ्चालनको योजना पर सरेको छ ।
लुम्बिनी प्रदेश सरकारले अब दाङलाई छोडेर आगामी आर्थिक वर्षमा बाँकेको नेपालगन्ज–कोहलपुर सडक र रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डमा विद्युतीय बस संचालन गर्ने तयारी अघि बढाएको छ । विद्युतीय बस संचालनका लागि सम्भाव्यता अध्ययनसँगै जग्गा छनोटका लागि स्थानीय सरकारलाई आग्रह गर्ने काम गरिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिएका छन् ।
विद्युतीय बस संचालनका लागि स्थानीय पालिकाहरुले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरु चार्ज गर्नका लागि चार्जिङ सेन्टर निर्माण गरिदिने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरुलाई नै बस संचालनको जिम्मा दिने गरी काम अघि बढाउन थालिएको कार्यकारी प्रमुख मजगैयाँले बताए ।
‘प्रदेश सरकारले नै बस किनेर चलाउने होइन, सरकारले विद्युतीय बस संचालनका लागि वातावरण बनाइदिने हो । बस चलाउनका लागि प्राइभेट कम्पनीलाई अवसर दिनेगरी कामलाई अघि बढाउँदै छौं,’ प्रमुख कार्यकारी अधिकृत मजगैँयाले भने, ‘प्रदेश सरकारले व्यवसायीलाई विद्युतीय बस संचालनका लागि ठाउँ निर्माण गरिदिने र बस खरिदका लागि सहुलियत दिन्छ ।’ उनले विद्युतीय बस संचालनका लागि पालिकाहरुसमेत उत्साहित देखिएको उनले बताए । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्ड र रुपन्देहीको बुटवल–भैहरवामा आगामी आर्थिक वर्षमा विद्युतीय बस चलाउनेगरी चार्जिङ स्टेशनहरु निर्माण हुने कार्यकारी अधिकृत मजगैयाँले जानकारी दिए । उनले नेपालगन्ज, कोहलपुरमा, बुटवल र भैरहवामागरी चार ठाउँमा चार्जिङ स्टेशन निर्माण हुने बताए ।
प्रदेश सरकारले स्थानीय तह र निजी कम्पनीहरुसँग मिलेर काम गर्न सके खर्चसमेत कम हुने उनले बताए । कम्तीमा पनि दुई ठाउँहरुमा ७÷८ वटाका दरले बसहरु ल्याएर चलाउने लक्ष्य रहेको कार्यकारी अधिकृत मजगैयाँले बताए ।
‘सम्भाव्यता अध्ययन गरेका दुवै रुटहरुमा सडकको राम्रो अवस्था रहेको र स्थानीय तहहरु उत्साहित देखिएकाले पाइलट प्रोजेक्टका रुपमा आगामी आर्थिक वर्ष बस संचालन गर्नेगरी काम अघि बढ्नेछ,’ उनले भने, ‘पहिलो प्रोजेक्ट सफल भएपछि दाङको घोराही–तलसीपुर सडक खण्डमा पनि विद्युतीय बस चलाउने छौं ।’
‘दाङमा विद्युतीय बस चलाउने भनेको सडक निर्माणका क्रममा रहेको छ, जसले गर्दा यो वर्ष विद्युतीय बस चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘तर रुपन्देही र बाँकेमा स्थानीय तहहरुले विद्युतीय बस संचालनका लागि चार्जिङ सेन्टर निर्माणका लागि जग्गा छुट्याउने काम गरे प्रदेश सरकारले चार्जिङ सेन्टर निर्माण गरिदिन्छ ।’
विद्युतीय बस संचालन भए भाडा दरमा सहुलियतसँगै अहिले भैई रहेको वायु प्रदुषणसमेत कम हुने प्रदेश सरकारको दावी छ ।