आइशोलेसन थप्दै नेपालगन्ज
Monday, May 3rd, 2021, 2:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० वैशाख
कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि नेपालगन्ज उप-महानगरपालिकाले तेस्रो आइशोलेसन केन्द्र निर्माण गर्ने भएको छ । हाल ह्वाइट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आइशोलेसन संचालन गरिरहेको उप-महानगरपालिकाले तेस्रो आइशोलेसन केन्द्र बालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको हो ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आइशोलेसन बनाउनका लागि आइतबार त्यसको मर्मतसम्भार र रंगरोगनाका लागि आवश्यक प्राविधिक स्टीमेट तयार गर्ने निणर्य गरेको हो । बैठकको निणर्यलगत्तै नगरप्रमुख राणाको नेतृत्वको जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले मर्मतसम्भार र रंगरोगनको प्रारम्भिक स्टीमेट तयार पारेको हो ।
नगर प्रमुख राणाले छिटोभन्दा छिटो आइशोलेसन बनाउन निर्माण कार्य तत्कालै सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । राणा भन्छन्, ॅमहामारी नियन्त्रणका लागि थप आइशोलेसन आवश्यक छ । आजैदेखि निर्माणको कार्य सुरु गर्नेगरी खटिनुहोस । उप-महानगरपालिकाले भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहनेगरी आइशोलेसन केन्द्र निर्माण गर्न लागेका कारण गुणस्तरीय सेवा सुविधा पाउने उनले बताए ।
सो अवसरमा उप-प्रमुख उमा थापा मगर, कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गठित अनुगमन समितिका सदस्य नगर प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १४ का वडा अध्यक्ष दीपक वर्मालगायतको सहभागिता रहेको रह्यो ।