साक्षरता नै शिक्षाको मूल हो
Wednesday, June 9th, 2021, 2:41 pm
Kalpristha
किरण आचार्य
नेपालगन्ज, २६ जेठ
एउटा पुरानो तिजको गीतमा आमाले छोरीलाई आशिर्वाद दिँदा भन्छिन्, ‘…पढेका पण्डितलाई परेस् बरिलै ।’
आफ्नी छोरी पढेलेखेका विद्वान अर्थात पण्डितलाई परोस् वा विवाह होस् भन्ने लालसा चाहना हरेक आमालाई हुन्छ । अब प्रश्न उठ्छ, यो विद्वता के हो ? स्नातक, स्नातकोत्तर उतीर्ण गर्नु वा विद्यावारिधि गर्नु हो ? जुन सबैको सपना त हुन्छ तर प्राप्तिमा हुँदैन । पढ्नुको अर्थात् पढाई वा शिक्षाको उद्देश्य के त ? अर्थात् प्राप्ति के हुन्छ ?
विद्वताको अर्थ समाजमा फरक र अब्बल देखिनु, बहसमा र भाषणमा धारा प्रवाह बोल्न सक्नु वा आर्थिक सुदृढीकरण हुनु हो ?
शिक्षाको शन्दर्भमा धेरै बहस हुँदै आएको छ । तर शिक्षा यही हो र यो नै वास्तविक हो भनेर धेरै दार्शनिकहरुले र विद्वानहरुले आ–आफ्नो तर्क प्रस्तुत गरेपनि आजसम्म निक्र्याैल हुन सकेको छैन । तर पनि स्तरीकृत मान्यताअनुसार कुनैपनि राष्ट्रले आफ्नो आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्न बनाएको पाठ्यक्रमअनुसार दिइने औपचारिक शिक्षा नै सर्वमान्य भएको छ ।
शिक्षाको महत्वपूर्ण पाटो भनेको एउटा अबोध बालक वा बालिका जसलाई उसका आमाबुबाले रुवाउँदै र चकलेट दिएर फकाउँदै विद्यालयमा भर्ना गरिदिन्छन् । उसलाई दक्षता प्रदान गरेर समाजमा केही गर्नसक्ने अनि आफूलाई आर्थिकरुपले सबल र सक्षम बनाउन सक्नेगरी तयार गरिदिनु हो ।
महत्वपूर्ण कुरा के भने बालक वा बालिका विद्यालय जाँदैमा, राम्रो वा साधारण पोशाक लगाउँदैमा आशातित सुयोग्यता प्राप्त गर्न सक्छ त ? अर्थात् नेपालको वर्तमान पाठ्यक्रम हाम्रा बालबालिकालाई दक्ष नागरिक बनाउन सक्ने खालको छ त ? यसको उत्तरमा आधा हो हुन्छ भने आधा होइन हुन्छ ।
किनभने नेपाल सरकारले आफ्ना बालबालिकालाई दुई किसिमले प्राविधिक शिक्षा प्रदान गर्ने गरेको छ । एउटा सिटिइभिटीले प्रदान गर्ने प्राविधिक शिक्षा अर्काे विभागद्वारा सामुदायिक विद्यालयमा प्रदान गरिने व्यावसायिक र प्राविधिक शिक्षा । यी दुवैको पाटो केही मिल्दो जुल्दो भएपनि धेरै फरक छ ।
जे होस्, यसबारे फरक कुरा पट्टि नजाउँ । सामान्यरुपमा भन्दा सिटिइभिटीले प्रदान गर्ने सेवा विशुद्ध तालिमको हो भने विद्यालयहरुले प्रदान गर्ने सेवा प्राज्ञिक हुनुको साथै तालिम पनि हो । यो प्राविधिक शिक्षाले सिकारुहरुमा क्षाता अभिवृद्धि गरेर उनीहरुलाई देश र विदेशमा सहजै रोजगारी प्राप्त हुन्छ भने अर्थिक उपलब्धि पनि मनग्य हुन्छ ।
साधारण शिक्षा ः प्राविधिक र व्यवसायिक शिक्षा र विश्वविद्यालयले प्रदान गर्ने उच्चस्तरीय प्राज्ञिक शिक्षा । यो सबको चुरो कुरो के हुन सक्ला ? अर्थात् यो सबै प्राप्त गर्न सक्षम गराउन मूल आधार के होला ? किनभने पहिले केही विद्यार्थीहरु प्रत्येक कक्षाकोठामा हुने गर्थे भने केही मध्यम तर धेरैजसो पछाडि बस्ने । ती पछाडि बस्ने सधैं अनुतीर्ण हुन्थे र अन्तमा शिक्षा ग्रहणबाट अवकाश लिन्थे ।
कोही अत्यन्त राम्रा भने कोही अत्यन्त असफल । हाल धेरै विद्यार्थी उच्च अंकका साथ परीक्षा त उतीर्ण गर्छन् । तर पुस्तक पढ्न र एउटा चिठ्ठि पत्र लेख्नसमेत सक्दैनन् । त्यसो भए यतिका अंक कसरी प्राप्त गरे त ? बडो भयावह कुरो छ ।
यो असहजताबाट छुटकारा पाउन नेपाल सरकारदेखि विभिन्न समाजसेवी संस्थाहरु लगेकै छन् । उनीहरुले विद्यार्थीलाई कहिले झोला त कहिले कापी पनि वितरण गरेका छन् । तर उपलब्धी शून्य छ । विद्यार्थीले पढाइमा ध्यान पटक्कै नदिने कुराको गुनासो यत्रतत्र छ ।
शिक्षण सेवा गर्दाका तमाम अवधिमा प्राप्त अनुभवले र मैले गरेका अध्ययनबाट प्राप्त सूचनाहरुबाट मैले के प्राप्त गरें भने बाँकेका विद्यालयमा अध्ययनरत अधिकांश बालबालिका निरक्षर नै हुँदा रहेछन् ।
अर्थात् कक्षा उकाले पनि ती साक्षर नै नभएका हुँदा रहेछन् । जसको फलस्वरुप उनीहरु पढाइप्रति उदासिन हुँदारहेछन् । अर्काे कुरा उनीहरु विभिन्न क्षमता र अभिरुचिसहित जन्मिँदा रहेछन् । शिक्षा प्रदान गर्दा उक्त क्षमता र अभिरुचिको पहिचान गर्नुपर्नेमा त्यसो नभएको अवस्था छ ।
तेस्रो कुरा शिक्षालाई त्रिपक्षिय अर्थात् ट्राइपोलर पनि भनिन्छ । भन्नुको मतलव शिक्षक, विद्यार्थी र अभिभावक । यसअनुसार शिक्षकभन्दा अभिभावक नै बढी सक्रिय हुनुपर्छ । तर हाम्रो समाजको विडम्वना केहीमात्र अभिभावक सक्रिय छन् भने अधिकांशलाई यसो गर्न सम्भव छैन । यस अवस्थामा विद्यार्थीलाई भाग्यको भरोसामा छोड्नु उपयुक्त हुन्छ त । त्यसैले बाँके जिल्लाको परिवेशमा विद्यार्थीको सर्वस्व भनेकै शिक्षकहरु हुन् । उनीहरुको सत्प्रयास र मिहिनत नै विद्यार्थीहरुको सर्वोपरी हो । लाचार अभिभावकको भरमा विद्यार्थीहरु छोड्नु भनेको उनीहरुप्रति घोर अन्याय हुन जान्छ । तसर्थ प्रत्येक विद्यालयले आफ्ना बालबालिकाको प्रारम्भिक सिकाईमा विशेष ध्यान दिएर उनीहरुलाई साक्षर बनाऔँ ।
किनभने साक्षरता नै वास्तविक शिक्षा हो । शिक्षाको मूल हो । अन्यथा शिक्षाका सबै सिद्धान्त हावा हुनेछन् ।
शिक्षामा बाँकेका स्थानीय तहको भूमिका
संघीयतापछि माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइयो । यसले शिक्षा क्षेत्र सुधारका लागि थुप्रै अवसरहरु ल्याएर आयो । आफ्नो क्षेत्रको शिक्षालाई कसरी सुधार गर्ने, स्थानीय समस्या के हुन् ? भनेर पहिचान गर्ने र तीनको समाधान पनि गर्ने अवसर स्थानीय जनप्रतिनिधिका सामु छ ।
त्यो अवसरको सदुपयोग गर्दै बाँकेका केही स्थानीय तहले राम्रो कामको सुरुवात पनि गरेका छन् । बाँकेमा पनि देशभरजस्तै विद्यालयहरुमा शिक्षकको अभाव छ । अधिकांश सामुदायिक विद्यालयको आफ्नै स्रोत नहुँदा उनीहरुले शिक्षक व्यवस्थापन गर्नसक्ने अवस्था छैन । सरकारले शिक्षक व्यवस्थापनका लागि नगन्य प्रयास मात्रै गर्दै आएको छ । यस्तो अवस्थामा बाँकेका केही स्थानीय तहले शिक्षक अभाव भएका विद्यालयमा शिक्षक व्यवस्थापनमा अग्रसरता देखाए ।
बाँकेको राप्तिसोनरी गाउँपालिकाले करिब एक सय ३९ जना शिक्षकलाई आवश्यक तलब छुट्यादिएको छ । हुन गाउँपालिकाले छुट्याइदिएको तलब शिक्षकको पारिश्रमिक मापदण्डमा नपरेपनि विद्यालयले झेल्दै आएको शिक्षक अभावको समस्यामा ठूलो राहत हो । यस्तै डुडुवा गाउँपालिकाले पनि शिक्षकहरु व्यवस्थापन सहयोग गरेको छ ।
शिक्षाको अवस्था अस्तव्यस्त रहेको नरैनापुर गाउँपालिकाले पनि शिक्षालाई विशेष प्राथमिकता दियो । केही वर्ष पहिले नेपाली राष्ट्रिय गानसमेत पहिचान नगर्ने त्यहाँका बालबालिकाहरु अहिले राष्ट्रिय गान गाउनसक्ने भएका छन् । विद्यालयमा विस्तारै उपस्थिति दर बढ्दै गएको विद्यालयहरुको भनाइ छ । गाउँपालिकाले एउटा स्कुल बससमेत संचालन गरेर विद्यालयप्रति बालकालिकालाई आकर्षण गर्ने उपाय अपनाएको छ । विद्यालयको भौतिक पूर्वाधार सुधारमा पनि गाउँपालिकाले विशेष मिहिनत गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले कन्या विद्यालयको अवधारणा अघि सारेर त्यसलाई सफल पनि बनाएको छ । अर्काे कन्या कलेज निर्माणाधिन छ । हिजो छोरीहरु बुर्का र पर्दामा रहनुपर्ने भन्ने मान्यता बोकेका परिवारलाई अब छोरीहरुलाई विद्यालय पठाउन सजिलो भएको छ । विद्यालयमा पहिले अक्षर चिन्नै नसक्ने बालबालिकाहरु अहिले खरर पढ्नसक्ने भएका छन् । यो पनि ठूलो परिवर्तन हो । कुनैपनि बालक साक्षर भयो भने उसको शैक्षिकस्तर माथि उठ्छ । सल्यानीबागस्थित विद्यालयमा अध्ययनरत बालिकाहरुमा पढाइस्तर एकदमै आशालाग्दो कगरी बढेको छ ।
बाँकेका सबैजसो स्थानीय तहहरुले विद्यालयमा लगानी गरेका छन् । विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नेदेखि खेलकुदका क्रियाकलासम्ममा उनीहरुको लगानी छ । जुन सह्राहनीय कुरो हो ।
संघीयतासँगै केही विकृतिहरु पनि विद्यालयमा छिरेका छन् । शिक्षकहरु नियुक्तिमा जनप्रतिनिधिहरुले खेल्न सक्ने र गलत नियत राखेमा शिक्षक नियुक्तिमै भद्रगोल हुने अवस्था नआउला भन्न सकिन्न । शिक्षक नियुक्तिमा पहिलेदेखि नै राजनीतिक हस्पक्षेप हुने गरेको आरोप लाग्ने गरेकोमा जनप्रतिनिधिबाट पनि त्यो नहोला भन्न सकिन्न । यसलाई कम गर्न भने सबैको चासो र निगरानी आवश्यक रहन्छ ।