एनआरएन अमेरिकाको चुनावी जोड घटाउ शुरू
Tuesday, January 31st, 2017, 4:45 am
amit
भोला आचार्य
अमेरिका, केही महिना बाँकि एनआरएन अमेरिकाको चुनावी जोड घटाउ शुरू भएको छ। टेक्सासमा हालै सम्पन्न पाँचौ साधारण सभाको क्रममा खास शुरु भएको यो जोड घटाउको खेलमा बहालवाला पदाधिकारीहरुको वाहुल्यता देखिन्छ। केही नयाँ अनुहार पनि तयार छन्। वर्तमान अध्यक्ष केशव पौडेल लगायत आधा दर्जन पदाधिकारी कार्यसमितिबाटै तम्सिएका छन्।
हालै न्युयोर्कबाट बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले अध्यक्षको उमेद्वारी दिएको सार्वजनिक गरेका छन्। न्युयोर्कबाटै च्याप्टर अध्यक्ष तेम्वा शेर्पा अध्यक्षको उम्मेदवारमा भिड्ने जानकारी साधारण सभाको क्रममा सुनाएका थिए। त्यसैगरी बाल्टिमोर निवासी एनआरएन उपाध्यक्ष रविना थापाले आसन्न निर्वाचनको अध्यक्ष पदका लागि तयार रहेको बताईन्। वाल्टिमोर नेपाली समुदायको प्रतिनिधिमुलक संस्थाको नेतृत्व सम्हालिसकेकी थापा नेतृत्वको लागि आफू सक्षम भएको जिकिर गरिन्। एनआरएन अमेरिकाका सल्लाहकारसमेत रहेका टेक्सास निवासी युवा उद्यमी गौरी जोशी पनि आगामी निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी दिने भएका छन्। टेक्सासमा हालै सम्पन्न नेजाले गरेको आसन्न निर्वाचनका उमेद्वारहरुसँगको छलफलमा उनले आफ्नो उमेद्वारी सार्वजानिक गरेका थिए।
टेक्सास नेपाली समाजको नेतृत्व गरिसकेका जोशीले आफूलाई निर्वाचित गरे ५ सय नेपालीहरुको जीवन परिवर्तन गरिदिने बाचा गरेका थिए। उनीहरूबाहेक वहालवाला त्रय उपाध्यक्षहरु वन्दना कोईराला, राम पोखरेल र डिल्ली भट्टराई पनि नेतृत्वको लागि तयारीमा छन्। नेतृत्वको लागि सबैले कसरत गरे पनि अन्य पदहरुमा भने कम चासो देखिएको छ। नेतृत्ववाहेक वरिष्ठ उपाध्यक्षको पदमा अहिलेसम्म कोही खुलेको देखिदैनन्। उपाध्यक्षका लागि आधादर्जन उमेद्वार बन्ने निश्चित छ। उपाध्यक्ष पदको लागि एनआरएन अमेरिकाका वोर्ड सदस्य हरिश्चन्द्र हमालले आफ्नो उमेद्वारी दिने घोषणा गरेका छन्। त्यसैगरि भुवन आचार्य लगायत एनआरएन अमेरिकाका वहालवाला वोर्ड सदस्यहरु, अधिकांश च्याप्टर अध्यक्षहरु र अध्यक्ष पदबाट चिप्लिनेहरुले उपाध्यक्ष पदमा आँखा गाडेका छन्।
त्यसैगरि कोषाध्यक्ष पदमा रविन बज्राचार्यले आफ्नो उम्मेदवारी दिने निर्णय गरेका छन् भने महासचिव पदमा सर्वज्ञ वाग्ले, पुरुषोत्तम बोहोरा र शिव मल्लले उम्मेद्वारी दिने तयारीमा छन्। निर्वाचनमा राजनीतिक हस्तक्षेपको सम्भावना शुरूवातदेखिनै राजनीतिक हस्तक्षेपको आरोप खेपेको एनआरएन अमेरिकाले आसन्न निर्वाचनमा पनि यसबाट बन्चित रहने छाँटकाँट देखिदैन। एनआरएनमा बढी जसो नेपाली कांग्रेससम्वद्ध जनसम्पर्क समिति र एमालेसम्वद्ध प्रवासी नेपाली मन्चको प्रतिश्पर्धा भएको देखिन्छ। यसबाहेक अन्य राजनीतिक संगठनहरु खासै खुलेको पाईदैन भने जनजातिहरुको प्रतिनिधिमुलक संगठन पनि यस आरोपबाट अछुतो छैन। पूर्वअध्यक्ष खगेन्द्र जिसीको पालादेखि सुरू भएको राजनीतिक हस्तक्षेपको आरोपको मात्रा वर्तमान अध्यक्ष डा केशव पौडेलको पालामा बढी देखिन्छ।
गत सालको निर्वाचनमा अध्यक्षको पदमा मात्र जनसम्पर्क समितिले दुई उमेद्वारहरु केशव पौडल र नगेन्द्र पौडेल खडा गरेको थियो भने प्रवासी मन्चको तर्फबाट गणेश कुँवरले निर्वाचनमा भाग लिएका थिए। नेपालमा झै दुई गुटमा विभाजन जनसम्पर्क समितिबाट पूर्व संयोजक विष्णु सुवेदीको तर्फबाट केशव पौडेल र समिति अध्यक्ष विष्टको तर्फबाट नगेन्द्र पौडेललाई उठाईको थियो । गतसाल काठमाडौंमा सम्पन्न सम्मेलनमा राजनीतिक हस्तक्षेपको चुली उत्कर्षमा देखिन्थ्यो। वर्तमान अध्यक्ष पौडेलले प्रवासी मन्चका अध्यक्ष सन्जय थापा, जनसम्पर्क समिति आनन्द विष्ट र जनजाति महासंघका अध्यक्ष लुईसाड वाइवालाई वाईपास गर्दै आफूलाई सहयोग गर्ने गुटका जनसम्पर्कसमितिका पूर्वअध्यक्ष विष्णु सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, केन्द्रिय सदस्य प्रमोद सिटौला लगायतका व्यक्तिहरुलाई उक्त सम्मेलनमा सहभागि गराएका थिए।
एनआरएनको नेतृत्वकै विषयलाई लिएर जनसम्पर्क समिति आफैभित्र एक टाउँमा जुट्न सकेको देखिदैन। समितिका वर्तमान अध्यक्ष विष्ट, प्रवासी मन्चका थापा र जनजाति महासंघ अमेरिकाका अध्यक्ष वाईवा तीन शक्तिशाली संगठन एकठाउमा र एनआरएन अमेरिका अर्को पक्षमा उभिएर राजनीतिक हस्तक्षेपका नांगा तस्विरहरु वेलावेलामा देख्न सकिन्छ। चुनावकै क्रममा भोटिड फ्रडको आरोप लागेर अदालतमा तारिख वोकिरहेको वर्तमान एनआरएन नेतृत्व आफैंमा व्यवसायिक नहुनुले एनआरएन अमेरिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त वनाउन त्यति सहज देखिदैन।
अमेरिकामा वलियो सांगठनिक संरचना भएको जनसम्पर्क समितिले उदारता नदेखाउन्जेल यो संगठन पेशागत संगठनको रुपमा चिनाउन कठिन रहेको जानकारहरु बताउँछन्। टेक्सासमा सम्पन्न एनआरएन अमेरिकाको पाँचौ साधारण सभामा समितिका अध्यक्ष विष्टले राजनीतिक हस्तक्षेप नहुने जिकिर गरेका छन्। यसरी लगाइदैछ भागवण्डा हालसम्म बाहिर नखुले पनि आगामी निर्वाचनमा नेतृत्व दोहोर्याउने तयारीमा रहेका वर्तमान अध्यक्ष पौडेललाई क्यानडासहित अमेरिकाका क्षेत्रिय संयोजक, आरसी सोनामलामाले ढाडस दिएका छन्। त्यसो त एनआरएनमा पौडेलको प्रवेशसँगै आरसी लामाले राजनीतिक हस्तक्षेप र निर्वाचन धाँदली गरेको आरोप लगाउदै विरोधमा उत्रिएका थिए। केन्द्रमा मान्यता नदिलाउन हदैसम्मको लवि गरेका लामाले केन्द्रका वर्तमान उपाध्यक्ष अर्थात तत्कालिन महासचिव कुमार पन्तलाई पत्राचार गर्न लगाएर अध्यक्ष पौडेलको कार्यसमितिलाई अदालतसम्म पुर्याउन मद्धत गरेका थिए। शुरुवातमा आशालाग्दा देखिएका पौडेल भोटिड फ्रडको आरोपलाई पन्छाउने सर्तमा डिआरसी लामाको मन जित्न सफल भएपछि अबको निर्वाचनमा यी वलिया खेलाडीको रुपमा देखिनेछन्। जसलाई अध्यक्ष डा पौडेलप्रति उदार देखिएको जनसम्पर्क समितिका पूर्व संयोजक सुवेदीको पक्षले साथ दिनेछ।
पौडेल दोहोरिने सर्तमा समितिकै विष्ट पक्षले यसलाई चुनौति दिदै आफ्नो उम्मेद्वार खडा गर्ने करिव करिव निश्चित छ। बाँकि अन्य राजनीतिक संगठन र जनजातिसँग सम्वन्धित संगठनहरु पनि त्यसै चुप लाग्ने देखिदैन। जनसम्पर्क समितिको पूर्वसंयोजक सुवेदीको पक्षले पौडेललाई अगाडि सार्ने देखिएपछि उनकै पक्षका अध्यक्ष पदमा आफ्नो उम्मेद्धवारी दिएका र दिने सोचमा रहेकाहरुको गुनासाहरु सतहमा देखिएका छन्। आगामी नेतृत्वको लागि पौडेललाई नै दोहोर्याउने तयारीमा रहेका समितिका पूर्व संयोजक सुवेदी र आरसी लामाको एकल इजलासले अध्यक्ष पदमा आफ्नो उमेद्वार दिएका बरिष्ठ उपाध्यक्ष पोखरेललाई क्यानडासहित अमेरिकाका क्षेत्रिय संयोजक, डिआरसी र उपाध्यक्ष रविना थापालाई आईसिसी अन्तर्गतको महिला कोर्डिनेटरमा तय गरिएको वुझिएको छ। यता अध्यक्ष पदका उमेद्वार गौरी जोशीलाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेको छ।
यस विषयमा जिज्ञासा राख्दा थापाले दुई भोट ल्याए पनि अध्यक्ष पदमा उमेदवार दिई छाड्ने जिकिर गरिन्। सुवेदीकै पक्षधर मानिने समितिका वर्तमान महासचिव र बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीले थापालाई सहयोग गर्ने वचन दिएका छन्। यस प्रकारको खेलमा पौडेलप्रति अनुदार देखिएको जनसम्पर्क समितिकै अर्को पक्षले आफ्नो उमेद्वार कोही नदेखिएर थापा र जोशीलाई सहयोग गर्न सक्ने अडकल गर्न सकिन्छ। कुनै पनि राजनीतिक पृष्ठभूमिमा नगनिएका जोशीलाई जनसम्पर्क समितिका दुवैपक्षले आ आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि राजनीतिक संलग्नता नदेखिएपछि हच्किएका छन्। केहिले एमाले समर्थित र कोहिले काँग्रेस समर्थित भएको अडकाल काट्ने जोशीले आफ्नो पारिवारिक सम्वन्ध कांग्रेससँग रहेको तर आफूले अहिलेसम्म कुनै राजनीतिक चरित्र नबोकेको बताए।
मुलधारको राजनीति नदेखिएपछि जनसम्पर्क समितिले जोशीलाई बरिष्ठ उपाध्यक्षको रुपमा हेरेको देखिन्छ । यता कुनै पनि हालतमा आफू अध्यक्ष वाहेकको पदमा रुची नरहेको उनले दाबी गरेका छन्। भूकम्पको वेला चर्चा कमाएको एनआरएन अमेरिकाको नेतृत्व राजनीतिक हस्तक्षेप र निर्वाचनताकाकै भोटिड फ्रडको विवादका कारण नेतृत्वको लागि अरु उमेद्वार नै वजनदार देखिन्छन्। बढी जसो नेतृत्व पदको वरिपरि घुमिरहेको एनआरएन अमेरिकाको आगामी निर्वाचनका अरु तस्विर वाँकी दिनमा देखिदैजानेछन्।
(आचार्य नेपाल अमेरीका पत्रकार संघका अध्यक्ष हुन)