डिपोर्ट प्रक्रिया तिब्र पार्न राष्ट्रपती ट्रम्पद्धारा आइसका निर्देशक बर्खास्त
Tuesday, January 31st, 2017, 10:27 am
amit
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस इमिग्रेशन एण्ड कम्स्टम इन्फोर्समेन्ट (आइस)का निर्देशकलाई पनि बर्खास्त गरेका छन् ।
ट्रम्पले आफू अनुकुल नरहेका व्यक्तिलाई बर्खास्त गर्दै आफू अनुकुलका व्यक्ति नियुक्त गर्ने क्रममा आइसका निर्देशक डानियल रग्सडेललाई बर्खास्त गरेका हुन् । ट्रम्पले कार्यकारी निर्देशकका रुपमा थोमस होमनलाई नियुक्त गरेका छन् ।
अमेरिकाको गृहमन्त्री (सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी ) जोनकेलीले सोमबार राती डानियललाई बर्खास्त गरेर थोमसलाई नियुक्त गरिएको जनाएका हुन् । कार्यकारी महान्यायाधिवक्ता शेली यट्सलाई बर्खास्त गरिएलगत्तै आइसका निर्देशकलाई पनि बर्खास्त गरिएको हो । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाइ हो ।
यसैको मातहतमा अमेरिकाबाट व्यक्तिलाई देशनिकाला गरिन्छ । सिमा सुरक्षामा कडाई गर्ने र कागजपत्रबिहिनलाई देशनिकाला गर्ने घोषणा गरेका ट्रम्पले आइसको निर्देशकमा नयाँ व्यक्ति नियुक्त गर्नुले यस मामलामा ट्रम्पले कडा रवैया अपनाउने थप स्पष्ट भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी कार्यकारी महान्यायाधिवक्ता शेली एट्सलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पदबाटै बर्खास्त गरेका छन् । शेलीले सोमबार शरणार्थी अमेरिकाको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी थिइन् ।