हार्न नचाहने धवलशमशेर
Monday, June 21st, 2021, 1:26 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, ७ असार
नेपालको राजनीतिमा एउटा आइकोनिक व्यक्तित्वको रुपमा देखापरेका धवल शमशेर राणा राप्रपाको राजनैतिक वृत्तमा अहिले नचाहेर पनि चर्चामा आएका छन् । त्यसो त् ओली सरकारले संसद विघटन गरेर काम चलाउ चुनावी सरकारको हैसियतमा रहेका अवस्थामा राप्रपाले पनि पार्टीको केन्द्रिय तहमा कसलाई कुन भूमिका दिने, कसलाई कुन जिम्मेबारीबाट पन्छयाउने र परिस्थितिलाई आफनो अनुकूल बनाउन कमिटी विघटन, पुनर्गठनजस्ता गतिविधिले कसैलाई काखा र कसैलाई पाखा लगाउँदा त्यसबाट आउने तरङ्गले नेतृत्व तह र कार्यकर्ता तहमा एक किसिमको हलचल हुनु स्वाभाविकै हो । यस्तै खालका राजनैतिक आग्रह र पूर्वाग्रहको चपेटामा परेका धवलशमशेर आफनो भूमिका र जिम्मेवारीमा अटल, अडिक हुन सके उनको राजनैतिक उचाई बढ्ने नै छ ।
हार्न नचाहने धवशमशेर ः
राजनीतिमा धवलशमशेरको एउटा फरक अडान छ । उनी हार्दैनन् बरु सिक्न चाहन्छन् । उनले यो छबि एकै पटकमा बनाएका होइनन् । उनले उठाएको कदममा उनी सफल भएका धेरै उदाहरण छन् । पछिल्लो नगर चुनावमा उनले चाहे उनी नगरप्रमुख बने । पुनः उनले नेपालगंज नगरको मेयर हुने प्रयास गरे । त्यसमा पनि उनी सफल बने । यसरी हेर्दा उनी हार्न नचाहने राजनैतिक व्यक्तित्वको रुपमा पहिचान स्थापित गर्दै छन् भन्ने सन्देश तल्लो तहदेखि माथिल्लो तहसम्म पुगेको छ । धवल राप्रपामा सर्वाधिक मत प्राप्त गर्ने नेताको छबी बनाएका ब्यक्ति हुन । उनीसँग पार्टीको महामन्त्री र उपाध्यक्ष भएर दुइ–दुइ कार्यकाल काम गरेको अनुभव छ । जुन नेपाली राजिनितिमा कमैले यस्तो अवसर पाउने गरेका छन । उनको हार्न नचाहने छविले कतै नेतृत्वमाथि नै शंकट आउने हो कि भन्ने रापप्रपाको पहिलो पुस्ता झस्किनुलाई अन्यथा मान्नु हुन्न पनि ।
धवलको राजनीतिमा प्रवेश र उनको बढ्दो लोकप्रियता ः
धवल एक साधारण व्यक्तित्व हुन् । उनलाई सबैले भेट्न, वार्तालाप गर्न र आफनो भनाइ राख्न सक्छन् । उनमा राणापन र पुर्खौली रवाफ छैन् । उनी गर्मीमा साधारण पहिरन र गम्छा लगाएर मर्निङ्ग वाकमा भेटिने गर्छन् । उनका बुबा कैलाश शमशेर राणाले अमेरिकाबाट कृषि पढेर नेपालमै कर्म गर्न रुचाए । यतै कृषिमा व्यस्त बने । छोराहरु पनि कृषिमै लागेर नेपालको कृषि क्षेत्रमा आधुनिकरण र वैज्ञानिकीकरणमा योगदान दिऊन भन्ने बुबाको चाहना हुनुपर्छ । धवल भने कृषिसँगै शिक्षामा केही गर्नुपर्छ भन्ने तिर लागे । त्यस्तोमा आफनो मोडर्न इंग्लिस पब्लिक स्कुल संचालनमा ल्याए । त्यसले नपुगेर उनले बाटिका नामक होटल पनि चलाउने सोच बनाए । यी सबैभन्दा अब केही अलग गर्छु भन्ने उनलाई लाग्यो । उनी राजनीतिमा लागे । राजनीतिको हिसाब किताब राम्रोसँग मेन्टेन गर्न सिपालु राणा जनतामाझ भिज्न धेरै समय पर्खनुपरेन । बरु समयले उनलाई भूमिका र जिम्मेवारीबाट सिकाउँदै परिपक्क राजनीतिज्ञको रुपमा अगाडि ल्याएको कुरालाई उनीद्धारा कार्यान्वित नगरीय हार्डवेयर योजनाहरु साक्षी छन् ।
धवलले बाँचा गरेका र साँचेका अभियान र योजनाहरु ः
धवलको राजनैतिक आँधी त्यत्ति सजिलै थामिने खालका छैनन् । उनले निर्माण गरेको विकासप्रेमी छविको रोपाइँ गर्दै उनी आफनो धेरै राजनैतिक अन्नबाली भित्र्याउने सोचमा देखिन्छन् । उनीसँग नगरको जिम्मेबारीको अभिभारासँगै थुप्रै स्थानीय, प्रादेशिक एवं राष्ट्रिय अभियान र एजेण्डाहरु छन् । सायद उनीसँग एजेण्डा नभएको भए विरोधीबाट उनी दिनादुदिन परास्त हुँदै जाने थिए । उनलाई राजनीतिमा बनिरहन धेरै हम्मेहम्मे नै पथ्र्यो होला । उनी राजनीतिमा भलै दोस्रो पुस्ताका होलान्, तर उनी महत्वकांक्षी राजनीतिज्ञ हुन् भन्ने कुरामा उनका सहकर्मी एवं विपक्षीहरु विश्वस्त देखिन्छन् ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने अभियान ः
यो अभियानलाई उनले सुरु सुरुमा नेपालगंजको सभा, गोष्ठीबाट छलफलमा ल्याउँदै सामान्य ढंगले उठाएका थिए । क्रमशः यस अभियानले सुर्खेत, बर्दियालगायतका जिल्लाहरुमा पनि प्रवेश पायो । सीमाना नजोडिएको, भन्सारबाट संकलन हुने राजश्व र सुख्खा बन्दरगाहबाट विमुख सुर्खेत पनि बाँकेलाई कर्णाली प्रदेशमा गाभिए आर्थिक र भौतिक दुबै हिसाबले राम्रो हुने ठानी यस अभियानप्रति घुमाउँरो ढंगले आकर्षित भएकै हो । अहिले प्रदेश नं. ५ को राजधानी लुम्बिनी प्रदेश बुटवलबाट सारेर सबै जिल्लालाई पाइक पर्ने गरी बालुबाङ्ग स्थित खाली जग्गामा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढेसँगै यो अभियानले राजनैतिक रुपमा सफलता पाएको हो भन्दा अतिशयोक्ति नहोला ।
अन्तर्राराष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि थालेको अभियान ः
नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज बढ्दो छ । यस्तोमा सीमावर्ती क्षेत्र एवं तराईंको समथर भुभागले क्रिकेटको लागि ठूलो सम्भावना र आधार तयार पारेको हुन्छ । यस विषयमा चतुर धवलले आफनो पुनः नेपालगंज शहरको नगर पिता भएलगत्तै गृहकार्य गर्न थाले । यसका लागि उनले फुल्टेक्रास्थित खाली मैदानलाई रोजे । अहिले यसको डीपीआरलगायतको योजनामा उनी तल्लीन देखिन्छन् ।
हिन्दू धर्मको पुनस्र्थापना र राजाको पुनरागमन एजेण्डा ः
यो एजेण्टा उनको नै एजेण्डा नभएर यो अहिले आएर राप्रपा, नेपाली कांग्रेसजस्ता इतिहास बोकेका राजनैतिक पार्टीको सामुहिक एजेण्डा बनेको छ । यत्ति हो राजाको पुर्नस्थापनाको विषयमा कांग्रेजको एउटा पक्ति वा तप्का लागेको भएपनि समग्र कांग्रेसजन नेपाली राजनीतिमा राजतन्त्रको पुर्नस्थापनाप्रति खासै चासो राख्दैनन् ।
उनको उपरोक्त एजेण्डा अरु शक्तिशाली राजनैतिक पार्टीहरुले पनि भाषण, सभामा उठाउँदै आएकाले उनको यो एजेण्डाले नेपाली राजनीतिमा प्रवेश पाइसकेको परिवेशमा उनको अभियान र एजेण्डामा दम छ भन्ने वातावरण सृजित भइरहेको अवस्था छ ।
गणेश थापाको फेसबुक स्टाटसमा देखिएको आलप–प्रलाप ः
उनले धवलशमशेर राणालाई सम्बोद्धन गरी लेखेको सात बुँदे टिप्पणीलाई पढ्दा धवलशमशेर प्रतिको उनको दुराश्य, आशय छर्लङ्गै नै छ । उनको भनाइलाई मनन गर्ने हो भने राजनैतिक आग्रह वा पूर्वाग्रह केन्द्रित नभई एक जोडीले पारपाचुकेको क्रममा तयार पारेको सहमति–पत्रजस्तै बुझिन्छ । हामी सँगै नरहे पनि समय समयमा भेट्ने, वार्तालाप गर्ने, डिनर गर्ने, एक असल साथीको रुपमा रहिहने भनेर बाँचा (प्रमिस) गरेको आशययुक्त पटाक्षेप ।
उनी साँच्चिकै धवलप्रति व्यक्तिगत र राजनैतिक रुपमा मित्रवत नै रहन चाहेका हुन् भने उनले आफनो तिक्ततापूर्ण भनाइ र स्टाटसको अन्त्यतिर गोहीको आँशु झार्ने दुश्साहसपूर्ण प्रयत्न गर्नुपर्ने कुनै कारण नै थिएन भन्ने लाग्छ । उनको यस्ता खालको बिरोदाभाषपूर्ण एवं द्धोत्य मानसिकताले भरिएको स्टाटसले कसैलाई फाइदा मिल्दैन । उनले धवलप्रति मित्रता वा राप्रपाको राजनीतिमा पारपाचुके चाहेका छन् भने, त्यो बेग्लै छलफलको विषय हुन सक्छ ।
यस प्रकरणमा एन्फाको पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी गणेश थापाले राजनीतिको मैदानमा सही ठाउँमा हिट गर्न चुकेका छन् । उनको यस्ता अभिव्यक्तिले राप्रपाको राजनीतिमा राम्रो नतीजा निकाल्न कठिन हुने देखिन्छ । यसले प्रचारित आसन्न चुनावमा कस्तो प्रभाव पार्ने हो ? राप्रपाले धवललाई पार्टीमा सम्माजनक स्थान दिएर राजनैतिक मैदानमा उनले देखाएको धमाकेदार व्याटिङ्ग प्रदर्शनलाई कायमै राख्न पहल गर्ला ? यी यस्ता प्रश्नहरुको प्रतिउत्तर अहिलेलाई प्रतीक्षाकै विषय बनेको छ ।