बाँकेमा कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत लिन आउन आह्वान
Wednesday, June 23rd, 2021, 7:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असार
लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने कार्यक्रम बाँकेमा कार्यान्वयनको प्रकृया सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोभिड-१९ को पहिलो लहरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई राहत रकम दावीका लागि निवेदन दिन आह्वान गरेको छ ।
प्रशासनले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउने राहत प्राप्तिका लागि असार १५ गतेभित्र आवश्यक कागजातसहितको निवेदन दिन आह्वान गरेको हो ।
२०७७ साल जेठ २० गते लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार आश्रित परिवारलाई राहत रकम लिनका लागि निवेदन माग गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
उनका अनुसार राहत रकम दावीका लागि कोभिड-१९ को परीक्षण रिपोर्ट पोजेटिभ, मृतकसँग हकवालाको नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दावीकर्ताको नागरिकताको प्रतिलिपी र रकम दावीकर्ताको खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपीसहित निवेदन दिनुपर्ने छ ।
ओलीका अनुसार कोरोनाको पहिलो लहरबाट बाँकेमा ५६ जनाको मृत्यु भएको छ । उनीहरुको नाम र ठेगानासहित राहत रकमको व्यवस्था प्रदेश सरकारले गरिसकेका कारण निवेदनका लागि आह्वान भएको हो ।