खजुराको गौरवको योजना औद्योगिक ग्रामको काम तीव्र गतिमा चल्दै
Wednesday, June 23rd, 2021, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ९ असार
खजुरा गाउँपालिका-६ मा निर्माणाधिन औद्योगिक ग्रामको पूर्वाधार निर्माणको काम तीव्र गतिमा चलिरहेको छ । आर्थिक वर्ष २०७६-७७ सालबाट सुरु भएको औद्योगिक ग्राम निर्माणको काम तीव्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ । ग्राम निर्माणका लागि पहिलो वर्ष ‘टोकन मनि’को रुपमा संघीय सरकारबाट ९२ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । सोहीवर्ष ग्रामको डिपिआर बनाउने काम लुम्बिनी प्रदेश सरकारले १५ लाख रुपैयाँमा गरेको थियो ।
पहलो वर्षमा गाउँपालिकाले औद्योगिक ग्राम निर्माण स्थलसम्म सडक जोड्ने काम गरेको छ भने ११ बिघा क्षेत्रमा तारबार लगाउने काम पनि सम्पन्न गरेको छ । यसैगरी, चौकिदार बस्ने घर र १६ बिघा जग्गाको नापजाँच गर्ने काम पनि भइसकेको छ । बाँकी रहेको पाँच बिघा जग्गाको नापजाँचको काम कोभिडले गर्दा प्रभावित भएको गाउँपालिकाका योजना अधिकृत दिबहादुर पौडेलले जानकारी दिए ।
औद्योगिक ग्रामको पूर्वाधार तयार गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले साझेदारी गरिरहेका छन् । औद्योगिक ग्रामको योजना पूरा हुन कुल ३२ करोड लागत लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७-७८ मा नेपाल सरकारले एक करोड रुपैयाँ विनियोजित गरेको छ । उक्त बजेट प्राप्त भइसकेपछि थप निर्माणको काम अगाडि बढेको छ । औद्योगिक ग्राममा बिजुली, पानी, बाटो निर्माणका लागि आवश्यक बजेट केन्द्रीय सरकारले उपलब्ध गराउनेछ । प्रदेश सरकारले ग्रामको डिपिआर तयार गर्ने काममा सहयोग गरिसकेको छ ।
संघीय सरकारको सबै स्थानीय तहमा एक-एक ओटा औद्योगिक ग्राम बनाउने नीतिअनुसार पहिलो चरणमा देशभरका ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको काम अघि बढेको छ । तीमध्ये देशभरका ६ वटामात्रै गाउँपालिकामा मात्रै औद्योगिक ग्रामको योजना सन्चालनमा छ । बाँकेमा एकमात्र स्थानीय तह खजुरा गाउँपालिकामा मात्रै औद्योगिक ग्रामको योजना चलिरहेको छ । औद्योगिक ग्रामभित्रको जग्गामध्ये ६० देखि ७० प्रतिशत जग्गामा मात्रै उद्योग स्थापना हुनेछ । अन्य क्षेत्रमा उद्योग सन्चालनका लागि आवश्यक अन्य पूर्वाधारहरु निर्माण हुनेछन् ।
औद्योगिक ग्राममा ठूला उद्योगभन्दा साना उद्योगलाई प्राथमिकता दिइने गाउँपालिका योजना अधिकृत पौडेलले जानकारी दिए । ग्राममा उद्योगीले आफ्नो इच्छाअनुसार उद्योग खोल्न पाउँनेछन् । औद्योगिक ग्राम निर्माणपछि स्थानीय उत्पादनले बजार पाउने, बेरोजगारी घट्ने, औद्योगिक सोचको विकास हुने, स्थानीय स्रोत साधनको प्रयोग बढ्नुका साथै आम्दानी बढ्न सघाउ पुग्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष एकमाया विकले बताइन् ।
स्थानीय सरकारको जिम्मामा ग्रामका लागि आवश्यक जग्गाको खोजी गर्ने र योजना कार्यान्वयन गर्ने काम थियो । जग्गा खोजीका लागि गाउँपालिकाले वडा नम्बर ६ मा नेपाल सरकारको नाममा भएको २१ बिघा जग्गा पत्ता लगायो । स्वर्गीय मन्नादेवी वर्माको अपुतालीपछि नेपाल सरकारको नाममा आएको उक्त जग्गा तत्कालिन उढरापुर गाविस अध्यक्ष कृष्णमान श्रेष्ठले सिमित व्यीक्तलाई अधियाँमा दिने व्यवस्था गरेका थिए । उनीहरुले २०५८ सालसम्म अधियाँ बुझाए पनि त्यसपछि बुझाएका थिएनन् । त्यही जग्गामा गाउँपालिकाले औद्योगिक ग्राम बनाउने भनेर निणर्य गर्यो । पूर्वाधार सूरु गरिसकेपछि जग्गाको स्वामित्वको विषयलाई लिएर सृजित विवाद पनि गाउँपालिकाले समाधान गर्न सफल भयो ।
उद्योगीहरु आकर्षित गर्न लगानी सम्मेलन गर्छौँः कक्षपति
पूर्वाधार स्थापना भएर मात्रै औद्योगिक ग्रामको उदेश्य पूरा हुने देखिँदैन । ग्राममा उद्योग सन्चालनका लागि उद्योगी र लगानीकर्ताहरु पनि तयार हुन आवश्यक हुन्छ । औद्योगिक ग्राम घोषणा तथा सन्चालन कार्यविधिका अनुसार स्थानीय तहले ग्राममा स्थापना हुन सक्ने सम्भावित उद्योग, लगानी, बजार व्यवस्था र रोजगारीको संख्या यकिन गर्नुपर्ने छ ।
गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति सबैभन्दा पहिला हाल गाउँपालिकाका विभिन्न स्थानमा छरिएर सन्चालन भइरहेका साना तथा घरेलु उद्योगलाई ग्राममा स्थानान्तरण गरिने बताउँछन् । ग्राममा साना, मझौला र ठूला उद्योगहरु समेत स्थापना गर्नेगरि डिजाइन् तयार भइसकेको कक्षपति बताउँछन् । पूर्वाधार तयार भइसकेपछि औद्योगिक ग्रामको अवधारणालाई सार्थक बनाउनका लागि लगानी सम्मेलन गरिने कक्षपतिले बताए । ‘अहिलेपनि हामीसँग थुप्रै उद्योगीहरु कनेक्टेड हुनुहुन्छ । उहाँहरु यहाँ आउन सकारात्मक हुनुहुन्छ । यसकै आधारमा पूर्वाधार निर्माण भइसकेपछि हामी लगानी सम्मेलन गरेर यस अभियानलाई सार्थक बनाउने छौँ,’ कक्षपतिले भने । लगानी सम्मेलनले उद्योगीहरुलाई खजुरा औद्योगिक ग्रामप्रति आकर्षित गर्न भूमिका खेल्ने कक्षपतिको विश्वास छ । साथै, औद्योगिक ग्राम स्थापनापछि युवाहरु स्वरोजगार बन्ने र औद्योगिक सोचको विकास हुने अपेक्षा गरिएको पनि कक्षपतिले बताए ।
खजुरा गाउँपालिकाले २०७६ सालमा खजुरा सम्मेलन गरेको थियो । समृद्ध खजुराका लागि अवधारण तय गर्न गरिएको उक्त सम्मेलनपछि गाउँपालिकाले १५ वर्षीय आवधिक योजना पनि तय गरिसकेको छ ।
कक्षपति उद्योग सन्चालनको वातावरण तयार गर्न औद्योगिक ग्राममा मात्रै नभई अन्य क्षेत्रमा पनि पूर्वाधार निर्माण भइरहेका दावी गर्छन् । गाउँपालिकामा कृषिमा आधारित उद्योगहरु सन्चालनको प्रचुर संभावना रहेको कक्षपति बताउँछन् । कृषि उत्पादनलाई नै मध्यनजर गरेर गाउँपालिकामा १५ सय मेट्रिक टन क्षमताको शीतभण्डार पनि निर्माण भइरहेको छ ।
गाउँपालिका अध्यक्ष कक्षपति औद्योगिक ग्रामको योजनाले खजुराको समृद्धिको लक्ष्यमा एक इट्टा थपेको बताउँछन् । उनी भन्छन्, ‘खजुरा शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको हब बन्ने दिशामा अघि बढ्दैछ ।’