स्थानीय तहको पहिलो कार्यकालको अन्तिम बजेट
Thursday, June 24th, 2021, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असार
बिहीबार बाँकेका स्थानीय तहहरुले बजेट आगामी आर्थिक वर्ष २०७८-७९ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट गाउँ तथा नगर शभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका हुन् । स्थानीय तहहरुले पेश गरेको बजेट सबै स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बजेट हुन् । २०७४ मा भएको निर्वाचनबाट चुनिएका स्थानीय तहका जनप्रतिनिधिको आगामी फागुनमा कार्यकाल सकिँदै छ । आगामी आर्थिक स्थानीय तहको आगामी नेतृत्वका लागि निर्वाचन हुनेछ ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । सङ्घीय र सबै प्रदेश सरकारले कोरोनाबाट सिर्जित समस्या समाधान गर्ने, स्वास्थ्य पूर्वाधार तयार गर्ने गरी नीति कार्यक्रम र बजेट ल्याएका छन् । बाँकेका स्थानीय तहहरुले भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले बुधबार नै बजेट सार्वजनिक गरिसकेकोे छ । नरैनापुर गाउँपालिकाको १० औं गाउँसभाबाट आर्थिक वर्ष २०७८–०७९ का लागि ४९ करोड १ लाख ४६ हजारको बजेट ल्याएकोछ । बिहीबार बाँकेका ८ स्थानीय तहमध्ये नेपालगन्ज उप-महानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् ।